कर्णालीका मुख्यमन्त्री शर्माले औधोगिक ग्राम भित्रको झार उखेल्न भनेपछि…

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले वीरेन्द्रनगरमा रहेको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय परिसरमा रहेको औधोगिक ग्रामका झार तत्काल उखेल्न निर्देशन दिएका छन् ।

यो वर्ष कर्णालीमा कम्तिमा दुई ओटा उद्योग स्थापना गर्ने उदघोष गरेका मुख्यमन्त्री शर्माले कार्यालय प्रमुख मुकुन्दनाथ योगीलाई उक्त निर्देशन दिएका हुन ।

६२ ओटा कोठा रहेको औधोगिक ग्राम भित्र सरसफाई गर्न निर्देशन दिदैं मुख्यमन्त्री शर्माले तत्काल सम्झौता गरेर उद्योग सञ्चालन गर्न निर्देशन दिएका थिए ।

‘सुरुमा यसको सरसफाई गर्नुहोस । झार उम्रेको ठिक भएन ।’ मुख्यमन्त्री शर्माले भने, ‘त्यसपछि ग्राम भित्रका पुराना भत्किन लागेका संरचना हटाउनुस, काठ भने संरक्षण गरेर राख्नुहोस ।’

मुख्यमन्त्री शर्माको उक्त निर्देशन पछि कार्यालय प्रमुख योगीले बजेट अभाव भएका कारण पुराना भत्किन लागेका संरचनाहरु हटाउन नसकिएको, कम्पाउण्ड वाल लगाउन नसकिएको, ग्राम भित्रको खाली जमिनलाई सम्याउन नसकिएको बताउँदै यथोचित बजेटको व्यवस्था गरिदिन माग गरेका थिए ।

प्रत्युत्तरमा मुख्यमन्त्री शर्माले काम गर्न निर्देशन दिदैं बजेटको चिन्ता नलिन निर्देशन दिए । ‘तपाईहरु काम गर्नुहोस, बजेटको किन चिन्ता लिनुहुन्छ र ? ’ उनको प्रश्न थियो । यसैबीच, ग्राम भित्रका ६२ ओटा कोठा मध्ये अब खाली भने ९ ओटा मात्रै रहेको कार्यालय प्रमुख योगीले बताए ।

‘अब जम्मा नौ ओटा कोठा मात्रै खाली छन् । अरु सबैलाई सम्झौताका लागि हामीले बोलाई सकेका छौं । सकेसम्म छिटो भन्दा छिटो हामीले ग्राम सञ्चालन गर्ने तयारी गरेका छौं ।’ उनले भने, ‘हालसम्म कोठमा लिएका उद्योगीहरुले रत्न पत्थर, बाँसका सामाग्री निर्माण, सिस्नो पाउडर उत्पादन, अल्लो बुनाई, अल्लो ढाका कमपा उद्योग, गार्मेन्ट उद्योग, राडीपाखी अल्लो, डल कुशन, फर्निचर, श्रृङ्गार, होजियारी, हेन्डी, हस्तकला र कार्पेटका उद्योगहरु सञ्चालन गरिनेछन् ।’

यता, मुख्यमन्त्री शर्माले ढटेरो, ओखर, चुलेआम, गल्याआरु, भाङो, लालेचुकबाट तेल उत्पादन गर्न आवश्यक अनुसन्धान गर्न निर्देशन समेत दिए । उनले कार्यालय प्रमुख योगीलाई बजारमा खपत, लागत, प्रदेशभरिमा कच्चा पदार्थको उपलब्धता आदिका बारेमा अनुसन्धान गरि तत्काल रिर्पोट बुझाउन निर्देशन समेत दिए ।

तपाईको प्रतिक्रिया