मुगुमा दुई सातादेखि विद्युत् सेवा अवरुद्ध

सुर्खेत । मुगुमा करिब दुई सातादेखि विद्युत् सेवा अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ । विद्युत् सेवा अवरुद्ध भएपछि जिल्लाको एकमात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाको पाँच हजार घरधुरीका २६ हजार परिवार साथै यहाँ रहेका सरकारी तथा गैरसरकारी सङ्घसंस्था प्रभावित भएका हुन् ।

गत असार २७ गतेदेखि गमगढी साना जलविद्युत् आयोजनाको मुहानमा समस्या आउँदा विद्युत् सेवा ठप्प भएको हो । अहिले जिल्ला सदरमुकाम गमगढीलगायत आसपासका ८७ बस्ती अन्धकारमा छन् ।

विसं २०६८ मा स्थापना भएकोे सो आयोजनामा पटक–पटक समस्या आउने गरेको छ । यसका कारण मुगुका तीन हजार एक सय घरधुरी प्रत्यक्ष मारमा परेका छन् । विद्युत् नहुँदा सरकारी कामकाजका साथै बैंक तथा वित्तीय संस्थाको सेवा प्रवाहमा बाधा पुगेको राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय मुगुका सहायक प्रबन्धक प्रकाश भाम बताए ।

विद्युतगृहको मुहानमा बाढी पस्दा नहरमा बालुवा र लेदोले पुर्दा नहरमा पानी प्रवाह नभएपछि विद्युत् उत्पादन बन्द भएको जनाइएको छ । पटक–पटक बालुवा हटाउन प्रयास गरे पनि सम्भव नभएको र गत वर्षको बाढीका कारण खोलाले धार परिर्वतन गरेपछि वर्षातको समयमा भलसँगै आउने लेदो र बालुवाले नहर जाम हुने गरेको छ । यसका कारण विद्युत् उत्पादनमा समस्या भएको गमगढी साना जलविद्युत् आयोजनाका प्राविधिक छिरिङ लामाले जानकारी दिए ।

चार सय किलोवाट विद्युत् उत्पादन क्षमता भएको आयोजनामा रहेका विद्युत् उत्पादन गर्ने दुई मेसिनमध्ये एक लामो समयदेखि चालु अवस्थामा छैन भने चालु रहेको मेसिनले जेनतेन एक सय ६० किलोवाट विद्युत् उत्पादन गरिरहेको थियो ।

तपाईको प्रतिक्रिया