एलिना, रचना र समीक्षाको गीत रेकर्डिङ पारिश्रमिक कति ?

काठमाडौँ । सांगीतिक क्षेत्रमा एकै समयदेखि छाएका गायिकाहरू हुन् एलिना चौहान, रचना रिमाल र समीक्षा अधिकारी । केही वर्षको अवधिमै उनीहरूले सयौं गीतमा स्वर दिइसकेका छन् । तीमध्ये दर्जनौं गीतहरू स्रोता–दर्शकहरूले निकै रुचाएका छन् । थुप्रै गीतहरूले युट्युबमा करोडौं भ्युज पनि पाएका छन् ।

कभर गीत गाएर चर्चामा आएकी एलिनाका ‘के माया लाग्छ र रु’, ‘धोकेवाज’, ‘मिनरल वाटर’, ‘छुनुमुनु’, ‘मेरो परान’, ‘भाग्यमा खोट छ’, ‘पानी पानी’, ‘पानी पँधेरो’, ‘दुई पाइला’जस्ता थुप्रै गीत स्रोता-दर्शकहरूले अत्याधिक रुचाएका छन् । रचनाका ‘फोटो फिरिममा’, ‘आयौं चेली’, ‘मिनरल वाटर’, ‘पहिलो पल्ट भेट हुँदा’, ‘उनको प्रीति’, ‘सम्झिनी पानी छम्किनी’, ‘भन साइँला’, ‘पैसा सापटी’ जस्ता थुप्रै गीतहरू चर्चामा छन् ।

‘फेरि कहाँ आउँछ र घुमेर’बोलको फिल्मी गीतबाट गायनमा पाइला चालेकी समीक्षा अधिकारीको व्यस्तता ‘माया मारेर’बोलको गीतबाट बढेको थियो । त्यसयता ‘आधी कपाल’, ‘तिम्रै मायाले’, ‘पिपलु वर’, ‘नबोली नबोली’, ‘पछ्यौरी लिस्यो’, सुर्ती माड्दै माड्दैु, ‘आफ्नो आफ्नो दुःख’ लगायतका उनका गीतहरूलाई दर्शक स्रोताले रुचाएका छन् । संयोग कस्तो भने, यी तीनै जना गायिकाको पहिलो गीत नै हिट भएको थियो । अहिले पनि यी तीनै जना गायिकाहरू सांगीतिक क्षेत्रमा निकै व्यस्त छन् ।

उनीहरू दैनिक रेकर्डिङका काम गरिरहेका हुन्छन् । स्टेज कार्यक्रमहरूमा पनि उनीहरू निकै खोजिने गरेका छन् । देशदेखि विदेशसम्मका कार्यक्रममा उनीहरूको डिमाण्ड हुने गरेको छ । एकै समयदेखि व्यस्त बनेका कारण हुनुपर्छ, उनीहरूलाई सांगीतिक क्षेत्रमा एक अर्काका प्रतिस्पर्धीहरू समेत भन्ने गरिएको छ । यद्यपि, यो कुरालाई उनीहरूले भने नकार्दै आएका छन् । आफूहरूको गायकीको छुट्टाछुट्टै शैली भएका कारण प्रतिस्पर्धा नभएको उनीहरूले कुराकानीका क्रममा बताउने गरेका छन् ।

यी गायिकाहरूको गीत रेकर्डिङको पारिश्रमिकमा भने समानता रहेको पाइएको छ । एलिना, रचना र समीक्षा तीनै जना गायिकासँग पछिल्लो समय सहकार्य गरेका एक संगीतकर्मीका अनुसार अहिलेको अवस्थामा उनीहरूले एउटै–एउटै पारिश्रमिक लिएर गीत रेकर्डिङ गराउने गरेका हुन् ।

‘२० हजार रुपैयाँ हाराहारी लिनुहुन्छ’ ती संगीतकर्मीले भने, ‘कहिलेकाहिँ योभन्दा कम पारिश्रमिकमा पनि गीत गाउनुहुन्छ । गीत गाउन दिइरहने संगीतकर्मी, आफूलाई राम्रो लागेका गीतहरू त्यसरी कम पारिश्रमिकमा समेत गाउने गरेको पाउँछु ।’ एलिना, रचना र समीक्षाले कहिलेकाहिँ दिनमै ५-७ वटासम्म पनि गीतहरू गाउने गरेका छन् । गीत गाएको पारिश्रमिक एउटै–एउटै लिने गरे पनि स्टेज कार्यक्रममा भने उनीहरूको पारिश्रमिकमा समानता नभएको आयोजकहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया