सुर्खेत । २०७९ माघ २० गतेदेखि २८ गतेसम्म वीरेन्द्रनगरमा जारी दोस्रो राष्ट्रिय औद्योगिक व्यापार, कृषि, नविनतम प्रविधि प्रदर्शनी तथा पर्यटन महोत्सव चल्यो। त्यहि महोत्सवमा सुरक्षा गार्डको रूपमा कार्यरत थिइन्, २४ वर्षीया गंगा परियार। त्यहिबेला भेट भयो जुम्लाको चन्दनाथ नगरपालिका-१ आचार्यबाडाका बिर्ख नेपालीसँग।
आफूलाई राष्ट्रिय अनुसन्धानको अधिकृत बताउने बिर्खले आफ्नै समुदायको भन्दै गंगासँग नकिकको सम्बन्ध बनाए। त्यति मात्रै होइन, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेसँग आफ्नो राम्रो परिचय भएकोसमेत बताए। बिर्खले गंगालाई एअरपोर्टमा सामान हेरचाह गर्ने गार्डका रूपमा जागिर लगाइदिने आश्वासन दिए।
गंगा मक्ख परिन्। राष्ट्रिय अनुसन्धान अधिकृतले एयरपोर्टको सेक्युरिटी गार्डमा जागिर लगाइदिने भनेपछि उनी झन् उत्साहित भइन्। उनीहरूबीच फोन नम्बर साटासाट भयो। बिर्खले उनलाई पाँच दिनभित्र आफ्नो सम्पर्कमा आउन सुझाव दिए।
स्थायी घर जाजरकोटको जुनिचाँदे गाउँपालिका-११ की उनी वीरेन्द्रनगरमा छोराछोरीलाई पढाउन भाडामा बस्दै आएकी थिइन्। उनका श्रीमान चार वर्षदेखि मलेसियामा कार्यरत छन्। गंगा आफूले सरकारी काम पाएपछि श्रीमान्लाई पनि घर बोलाएर सुखी जीवन बिताउने सपना देखिन्।
पाँच दिनपछि गंगाको मोबाइलमा बिर्खको फोन आयो। उनले २० हजार रुपैयाँ महिनाको तलब हुने र दुई हजार रुपैयाँ सञ्चय कोषमा जम्मा हुने बताए। तर त्यसका लागि चार हजार रुपैयाँ, दुई फोटा, नागरिकताको फोटोकपी लिएर तुरुन्त एयरपोर्टमा आउन भने।
बिर्खको फोनले गंगा झन् उत्साहित बनिन्। मनभरी खुसी छायो। यो खुसी उनले आफ्ना विदेशमा रहेका श्रीमान् निमबहादुर परियारलाई पनि सुनाइन्। निमबहादुर पनि सहमत भए। उनी एअरपोर्ट गइन्। गेटमा बिर्ख बसेका थिए। उनले गंगासँग चार हजार रुपैयाँ र कागजात मागे।
उनलाई ‘बाहिर बस, अरुले आफ्नो मान्छेलाई जागिर लगायो भन्दै विरोध गर्छन्। म मिलाएर आउँछु’ भन्दै बिर्ख विमानस्थलभित्र गए। १५ मिनेटमा बाहिर आएर फाइल दर्ता भइसकेको र १५/१६ दिनमा खबर आउने बताए। गंगापनि खुसी मनका साथ घर फर्किइन्। बिर्खले भनेको समयमा उनको फोन आएन। गंगाले नै बिर्खलाई फोन गरे र सोधे, ‘दाइ कामको कुरा के भयो ?’
उनले जागिर खान एक लाख रुपैयाँ राजश्व कोषमा राख्नुपर्ने भन्दै यो अन्तिम मौका भएको बताए। बिर्खले यतिमा मात्र रोकिएनन्, उक्त रकम फिर्ता हुनेसमेत आश्वासन दिए। गंगाले श्रीमान्लाई सबैकुरा सुनाइन्। सरकारी जागिर भनेपछि श्रीमान् पनि एक लाख दिन राजी भए।
बिर्खले भोलिपल्ट गंगासँग पैसा मागे। उनले एक लाख रुपैयाँ नगद दिइन्। पाँच दिनसम्म पनि कामको कुनै टुङ्गो नभएपछि उनले बिर्खलाई कि काम, कि पैसा दिन अनुरोध गरिन्। बिर्खले सरकारलाई राजश्व बुझाएको भौचर भन्दै आफ्नो खातामा आफैले जम्मा गरेको चिर्कटो थमाए।
गंगाले औपचारिक शिक्षा नलिएका कारण त्यहि भौचर लिएर घर फकिइन्। घरमा बहिनीलाई गएर देखाउँदा मात्रै उनले पत्ता पाइन् बिर्खले आफ्नै खातमा जम्मा गरेको पैसाको भौचर थमाएका रहेछन् भनेर। त्यसपछि गंगाले बिर्खलाई किन जागिर नदिएको भनेर फोन गरिन्।
बिर्खले तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई जागिरको विषयमा कुरा गरेको भनेर आश्वासन दिए। उनी गृहमन्त्रीसँग कुरा भएको भनेपछि ढुक्क भइन्। तर, कुरा भएको केही दिनमा नै बिर्खबहादुर सुर्खेत छाडेर सम्पर्कविहीन भए।
‘आफू अनुसन्धानको अधिकृत भएको र तत्कालीन गृहमन्त्री रवि लामिछानेसँग राम्रो सम्बन्ध भएको भन्दा म विश्वासमा परेँ,’ गंगाले भनिन्, ‘आफूले पढेलेखेको पनि छैन। यता सरकारी जागिर भएपछि बुढालाई स्वदेश फर्काउँला भनेको सपना त्यतिकै तुहियो।’
बेलाबेला फोन गरेर जागिरमा केही प्रक्रिया नमिलेको बताइरहेका बिर्खले विभिन्न बहाना बनाउँदै झुलाइरहे। आजकल बिर्खको मोबाइल अफ छ। उनी सम्पर्कविहीन छन्। यही घटनाले गंगाका श्रीमान्-श्रीमतीबीचको सम्बन्ध पनि पहिलाजस्तो छैन।
‘श्रीमान्ले एक लाख रुपैयाँ नल्याए, घर छोडेर जानु भन्नुभएको छ। उसले पैसा नै दिँदैन। पहिला-पहिला दिन्छु भन्यो। अहिले त फोनै अफ छ,’ गंगाले भनिन्, ‘जागिरको आशमा मेरो घरबार नै बिग्रन लागेको छ। छोराछोरीको बिचल्ली हुनेभयो।’
गंगाका दुई छोरा र एक छोरी छन्। उनीहरु क्रमश कक्षा एक, तीन र चारमा अध्ययनरत छन्। बिर्खले जुम्लाका विभिन्न ठाउँहरूमा सहकारी समूह बनाएर पैसा असुल समेत गरेको स्थानीयले उकेरासँग गुनासो गरेका छन्। यस विषयमा कुरा गर्न बिर्खसँग उकेराले सम्पर्क गर्न खोज्दा उनको मोबाइल अफ गरिएको छ।
जगतदल जनाला । २०८० मंसिर २७, बुधबार