हुम्ला ताक्ची खोलामा पुल निर्माण

हुम्ला, । नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीका स्थानीयले ताक्ची खोला तर्नु पर्ने समस्या हटेको छ । उक्त खोलाको तुम्लीङमा नयाँ झोलुङ्गे पुल निर्माण भएर सञ्चालनमा आएपछि उक्त समस्या हटेको हो ।

लिमीका वडा अध्यक्ष पाल्जोर तामाङका अनुसार तुम्लीङमा नयाँ झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न भएर सञ्चालनमा आएपछि स्थानीयलाई ताक्ची खोला तर्नु पर्ने बाध्यता हटेको छ। सो पुल निर्माण नहुँदा यसअघि लिमीका बासिन्दाहरूले पाँच जना भन्दा बढी मानिस मिलेर हात समातेर खोला तर्ने गरेका थिए । त्यस्तै बर्खा याममा उक्त खोला तर्न नसकिने भएको कारण लिमीका स्थानीयले एक दिन बाटो हिँडेर लिमी आउजाउ गर्नु पर्ने बाध्यता पनि हटेको छ । त्यसैगरि लिमीका पशुवस्तुलाई चरनका लागि सो खोला तर्नु पर्ने बाध्यता पनि हटेको छ । पुल बनेपछि लिमीवासीको वर्षौँ देखिको माग समेत पुरा भएको छ ।

सस्पेन्सन ब्रिज डिभिजन ललितपुरले २०७८ सालमा निर्माण कार्य सुरु गरेर २०८१ असार मसान्तमा सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता गरेको थियो । १२२ मिटर लामो उक्त पुल निर्माणका लागि सामाग्री ढुवानी गरेर लैजान निर्माण कम्पनीलाई लामो समय लागेको थियो । निर्माण सामाग्री ढुवानी गरेर निर्माण स्थलमा पुर्‍याएपछि चार महिनामा पुलको निर्माण कार्य पुरा भएको अध्यक्ष तामाङले बताए । उक्त झोलुङ्गे पुल निर्माणका लागि डिभिजनले भ्याट बाहेक दुई करोड बजेट लगानी गरेको हो ।

तपाईको प्रतिक्रिया