छलफलमा रहेको सुर्खेत विमानस्थलबारे प्रदेश सांसद कँडेलको भनाई

सुर्खेत । लामो समयदेखि बिस्तार गर्ने कि नयाँ विमानस्थल बनाउने भन्ने विषय छलफलमा अड्किएको सुर्खेत विमानस्थलको विषय फेरि चर्चामा आएको छ ।

उक्त क्षेत्रका सांसद एवम् कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले वर्तमान विमानस्थललाई नै बिस्तार गर्नुपर्नेमा जोड दिएका छन् । नेता कँडेललाई तत्कालीन अवस्थामा बिस्तार कार्य अघि बढाउन सहयोग नगरेको आरोप प्रदेश सरकारका त्यो बेलाका मन्त्रीहरू लगाउँछन् । तर, नयाँ विमानस्थल पूर्वी सुर्खेतमा बन्ने भएपछि कँडेल वर्तमान विमानस्थललाई नै बिस्तार गर्नुपर्ने कुरा व्यक्त गरेका छन् ।

उनका अनुसार स्थानीय बासिन्दालाई मर्का नपर्ने गरी मुआब्जा वितरण गरी वर्तमान विमानस्थललाई थप पूर्वाधारसहित बिस्तार गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको छ। उनले भने,‘ यही विषयमा सबैले आ–आफ्नो ठाउँबाट खबरदारी गरौँ । नयाँ विमानस्थलबारे छलफल गर्दै जाउँला ।’

कँडेलले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै अगाडि पनि वर्तमान विमानस्थललाई नै सुविधा सम्पन्न विमानस्थलका रूपमा विकास गर्नुपर्ने कुरा राखेका थिए ।

नेपाल सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान विमानस्थल दीर्घकालीन नहुने बरु नयाँ विमानस्थल बनाइनुपर्ने कुरालाई जोड दिँदै आएका छन् । सोही अनुसार उनकै निर्वाचन क्षेत्र रामघाटमा नयाँ विमानस्थलको गृहकार्य अघि बढिसकेको छ ।

अहिले भइरहेको विमानस्थल सुर्खेत क्षेत्र नम्बर–२ अन्तर्गत वीरेन्द्रनगरमा पर्दछ भने नयाँ बन्ने भनिएको विमानस्थल भेरीगंगा नगरपालिकामा पर्छ । क्षेत्र नं.२ का सांसद तथा नेताहरूले पुरानो विमानस्थललाई नै बिस्तार गर्नुपर्ने बताइरहेका छन् ।

तपाईको प्रतिक्रिया