सुर्खेत। कर्णाली प्रदेश सभाका महिला सांसदले आफूहरूले सदनमा उठाएका विषयमा सरकारले सुनुवाइ नगरेको बताएका छन् ।
प्रदेश सभा सदस्य गमता विकले सांसदमा आफूले उठाएका महत्वपूर्ण विषय ओझेलमा पर्ने गरेको बताएकी छन् । उनले लैङ्गिक उत्तरदायी बजेट निर्माणका लागि पटक पटक सरकारको ध्यानाकर्षण गराए पनि कार्यान्वयन नभएको चर्चा गरिन् । उनले सामाजिक रूपान्तरणमा सरकारले ठोस नीति, कार्यक्रम र बजेटको व्यवस्थापनमा ध्यान दिनुपर्ने भए पनि त्यसो हुन नसकेको बताइन् ।
वीरेन्द्रनगरमा आयोजित प्रादेशिक र स्थानीय नीति तथा योजनाका विषयमा भएको नीतिगत बहस कार्यक्रममा आफ्नो विचार व्यक्त गर्दैँ सदनमा उठाएका महत्वपूर्ण विषयमा सरकारले ध्यान नदिएको उनले गुनासो गरेकी छन् ।
हुम्लाबाट संसद्को यात्रा तय गरेकी विजया बुढाले पनि आफूहरूले संसदमा सवाल उठान गरे पनि उचित सम्बोधन नभएको बताएकी छन् ।
प्रदेश सभा सदस्य जानकी सिंहले सरकारलाई खबरदारी गर्ने काम जारी रहेको बताइन् । उनले हिंसारहित कर्णाली प्रदेश बनाउने, सुशासन प्रवर्धन गर्ने, विकास निर्माणका काममा समेत चासोका साथ सदनमा विषय उठान भइरहेको जानकारी दिइन् । कर्णालीमा भएगरेका विकृति, कुसंस्कारविरुद्ध सरकारले योजना निर्माण गर्न नसकेको सांसद सिंहले बताइन् ।
कर्णाली प्रदेश सभाका चारमध्ये सबैभन्दा सक्रिय समिति प्रदेश मामिला समिति बनेको छ। सभापति कल्याणी खड्काले समितिका ३१ वटा बैठक सम्पन्न भएको जानकारी दिइन् । उनले समितिबाट दफावार छलफल भई दुई वटा विधेयक पारित गरिएको बताइन् ।
समितिमा आएका विधेयकमाथि छलफल गर्नेदेखि आफ्नो कार्यक्षेत्रभित्र पर्ने प्रदेश सरकारका कामको अनुगमन तथा आवश्यक निर्देशन दिने काम भइरहेको खड्काले जानकारी दिइन् । विधेयकमाथि छलफलसहित सुझाव दिने, कानुन परिस्कृत गर्नेदेखि पारित भएका कानुन कार्यान्वयन तहको प्रभावकारितामा समितिको चासो रहने सभापति खड्काले बताएकी छन् ।
कर्णाली प्रदेशमा नीतिगत विषयमा अध्ययन, अनुसन्धान, बहस तथा पैरवी गर्दै आइरहेको ऋति फाउन्डेसन र काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट पोलिसी ल्याबको संयुक्त पहलमा स्थापित कर्णाली पोलिसी आउटरिच सेन्टरको आयोजनामा प्रादेशिक र स्थानीय नीति तथा योजनाका विषयमा नीतिगत बहस गरिएको थियो ।
बहसमा महिला प्रदेश सभा सदस्यले सरकारले लैङ्गिक उत्तरदायी बजेट निर्माण नगरेको, सामाजिक रूपान्तरणका लागि कार्यक्रम नबनाएको, आफूहरूले सदनमा उठान गरेका महत्वपूर्ण सवालको सम्बोधन नगरेको जस्ता गुनासो गरेका थिए । आफूहरूको पहिलो वर्षको कार्यकाल उपलब्धिभन्दा सिकाइका रूपमा लिएको उनीहरूको अनुभव रहेको छ ।
नेपालीरैबार । २०८० पुष ९, सोमबार