सुर्खेतको भेरीगङ्गामा ५० शय्याको सरुवा रोग अस्पताल निर्माण गरिने

सुर्खेत । सुर्खेतको भेरीगङ्गा नगरपालिका–१२, छिन्चुमा ५० शय्याको सरुवा रोग अस्पताल निर्माण गरिने भएको छ । तीन वर्षअघि अस्पताल निर्माणको चर्चा भए पनि यस वर्षदेखि कामले पूर्णता पाउने भएको हो ।

जग्गा प्राप्ति र वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) स्वीकृत भएको छ । यसै आर्थिक वर्षबाट सरुवा रोग अस्पताल निर्माणको काम थालिने जनाइएको छ । यसअघि सहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेतले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) सम्पन्न गरिसकेको छ । भवन डिभिजन कार्यालय सुर्खेतका प्रमुख रामकृष्ण आचार्यका अनुसार अर्थ मन्त्रालयमा बजेटको स्रोत सुनिश्चितताका लागि फाइल पेस गरिएको छ । मन्त्रालयबाट बजेटको स्रोत सुनिश्चितता भए बहुवर्षीय ठेक्का प्रणालीबाट काम सुरु गरिने छ ।

सरकारले अस्पताल निर्माणका लागि तीन वर्षदेखि बजेट विनियोजन गर्दै आएको छ । आर्थिक वर्ष २०७८ र ७९ मा पाँच करोड बजेट विनियोजन गरिएको थियो । सो बजेटको काम हुन सकेन । आव २०७९ र ८० मा सरकारले पाँच करोड नै बजेट विनियोजन गरिएको थियो तर जग्गा प्राप्ति र इआइए स्वीकृत नहुँदा काम हुन नसकेको भवन डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । चालु आर्थिक वर्षमा समेत सरकारले पाँच करोड नै बजेट विनियोजन गरेको छ ।

जग्गा प्राप्ति र इआइए स्वीकृत भएसँगै अस्पताल निर्माणको काम अघि बढेको प्रदेश सरकारले जनाएको छ । बजेटको सुनिश्चितता भए अस्पताल निर्माणको बहुवर्षीय ठेक्का प्रक्रिया थालिने जनाइएको छ । डिपिआर अनुसार २० करोडको लागत अनुमान छ । सरकारले प्रत्येक आर्थिक वर्षमा पाँचरपाँच करोड बजेट विनियोजन गर्ने गरेको छ ।

२०७९ असार २ गते बसेको मन्त्रीपरिषद्को बैठकले अस्पताल निर्माणका लागि जग्गा दिने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम प्रदेशको सामाजिक विकास मन्त्रालय र वन विभागसँग २०७९ फागुन १५ गते सम्झौता भयो । सम्झौता अनुसार राष्ट्रिय वनको चार दशमलव नौ हेक्टर क्षेत्रफलमा अस्पताल बनाउन अनुमति दिइएको छ । कार्यालयका सूचना अधिकारी प्रशान्त श्रेष्ठका अनुसार उक्त वन क्षेत्रमा पर्ने १४१ रुख कटान गरिएको वन डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । रुख कटान गरी स्थानीय सामुदायिक वन उपभोक्ता समितिको जिम्मा लगाइसकिएको छ ।

प्रादेशिक अस्पताल निर्माणका लागि ४.९ हेक्टर क्षेत्रफल छुट्याइएको छ । अस्पतालका लागि प्रस्तावित क्षेत्र छिन्चु–जाजरकोट सडकखण्डसँग जोडिएको छ । सडकको सहज पहुँच भएका कारण प्रस्तावित क्षेत्र अस्पताल निर्माणका लागि उपयुक्त रहेको भेरीगङ्गा नगरपालिकाले जनाएको छ । अस्पताल निर्माण गर्ने स्थान ठुलो र सडकसँग जोडिएको नगर प्रमुख यज्ञप्रसाद ढकालले बताए । प्रदेश सरकारले यो वर्ष नै काम थाल्ने गरी तयारी भएको जनाएको छ । सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले अस्पताल निर्माणका लागि यो वर्ष नै टेन्डर गरी निर्माण थालिने बताए ।

तपाईको प्रतिक्रिया