काठमाण्डौँ । ब्राजिलको सान्टा क्यान्टरिना राज्यमा रहेको एउटा जेलले हालै बन्दीहरूमाथि निगरानी गर्ने कुकुरहरूको समूहलाई हटाएर हाँसको हुल राखेको छ । यी हाँसहरूले बन्दी भाग्न थालेकोलगायत अनौठो खालको आवाज सुनेपछि हल्लाखल्ला गर्छन् ।
अहिलेको समयमा जेलहरूले बन्दीहरू भाग्न नसकुन् भनेर अनेकौँ उन्नत र परिष्कृत प्रविधिहरू जडान गरेका हुन्छन् । कहिलेकाहीँ उन्नत प्रविधि पनि बन्दीलाई भाग्नबाट रोक्न असफल हुन्छन् । त्यसैले यी प्रविधि बाहेक ब्याक अप एनालग डिटेक्शन प्रणाली राख्नु पनि ठिक हुन्छ ।
ब्राजिलका कयौँ जेलहरूले चाहिँ सुरक्षाकर्मी कुकुरलाई हटाएर हाँस राखेका छन् । यो उपाय प्रभावकारी हुनुको साथै सस्तो भएको बताइएको छ । हाँसको श्रवण शक्ति निकै चर्को हुन्छ । अनौठो आवाज सुन्ने बित्तिकै यिनीहरू कराउन थालिहाल्छन् अनि मानव सुरक्षाकर्मीहरूलाई अलर्ट गराइदिन्छन् । ‘जेलमा विद्युतीय सर्भिलियन्स छ, मान्छेहरूले पनि निगरानी राखिरहेका हुन्छन् । यसमाथि यी हाँसहरूले पनि निगरानी गरिरहेका छन्, कुकुरलाई हटाएर हाँसहरू राखिएको हो,’ जेलका निर्देशक मार्कोस रोबर्टो डि सुजाले अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सलाई भने । ‘राति निकै शान्त हुन्छ । दिनको बेलामा पनि जेल शान्त नै हुन्छ । राति त सन्नाटा झनै बढी हुन्छ । त्यसैले सुरक्षाका लागि हाँसको प्रयोग उपयोगी छ,’ उनले भने ।
हाँसको हुलले जेलको भित्री पर्खाल र मुख्य बाहिरी पर्खालबीचको हिस्सामा गस्ती गर्ने बताइएको छ । कम्तिमा पनि १२ वर्षदेखि ब्राजिलका जेलहरूले बन्दीहरूलाई भाग्नबाट रोक्न हाँसमाथि निर्भर गरिरहेका छन् । साओ पाओलोको सोब्राल जेलले सन् २०११ मा शङ्कास्पद गतिविधिका लागि मानव सुरक्षाकर्मीहरूलाई सतर्क गराउन हाँसको हुल राखेपछि यो खबर अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा हेडलाइन नै बनेको थियो । दुई वर्षदेखि चीनले पनि सीमामा आप्रवासीहरूमाथि निगरानी राख्न हाँसकै प्रयोग गरिरहेको छ । हल्ला थाहा पाउन अनि मान्छेलाई यसबारे थाहा दिन हाँसहरू कुकुर भन्दा पनि राम्रो भएको बताइएको छ ।
नेपालीरैबार । २०८० पुष १०, मंगलवार