बराहतालमा क्रसर सञ्चालन बस्ती जोखिममा

सुर्खेत।  नियमविपरीत र स्थानीयको विरोध हुँदाहुँदै पनि सुर्खेतमा क्रसर तथा बालुवा प्रशोधन सञ्चालनमा रहेका छन् । पटक पटक बन्द गर्न आग्रह गर्दा पनि दर्ताबिनाका क्रसर सञ्चालनमा रहेको पालिकाले जनाएको छ ।

सुर्खेतको बराहताल गाउँपालिका–२, थापाडेरादेखि डोप्कासम्म चार वटा क्रसर उद्योग इजाजतबिनै सञ्चालनमा रहेको गाउँपालिकाले जनाएको छ । पालिकाका अनुसार हिमाल बालुवा प्रशोधन उद्योग, देउतीमाता बालुवा प्रशोधन उद्योग, रामजानकी प्रशोधन उद्योग र केसी बालुवा प्रशोधन उद्योग गरी चार वटा उद्योग सञ्चालनमा रहेका छन्।

यस्ता अवैध उद्योग सञ्चालनले भेरी नदी किनारको बस्ती नै जोखिममा परेको बराहताल गाउँपालिकाका अध्यक्ष भीमबहादुर भण्डारीले बताए। उनका अनुसार थापाडेरा, पाग्म, रानीघाट, डोप्का गरी करिब चार सय घर जोखिममा परेका छन्। नियमविपरीत सञ्चालनमा आएका क्रसर उद्योग बन्द गर्न बारम्बार भनिएता पनि अटेरी गरेको उनको भनाइ छ ।

जिल्ला प्रशासन र जिल्ला समन्वयबाट पटक पटक अनुगमनमा आए पनि कुनै पनि कारबाही प्रक्रिया अघि बढ्न नसकेको गाउँपालिकाले जनाएको छ । जिल्लाको टोलीले अनुगमन गर्नुबाहेक कुनै पनि कानुनी प्रक्रियामा नगएको अध्यक्ष भण्डारीले बताए । नियमविपरीत सञ्चालनमा आएका क्रसर उद्योग बन्द गर्ने पक्षमा पालिका रहेको उनको भनाइ छ  । पालिकालाई क्रसर उद्योग हटाउन अधिकार भए पनि जनशक्ति नहुँदा समस्या भएको छ । एक वर्षदेखि उत्खनन बन्द भएको छ, अहिले निकालिएको सामान मात्र बिक्री भइरहेको हो तर विभिन्न शैलीमा उत्खनन भइरहेका छन् । पालिकाले गिट्टी, बालुवा बिक्री गरेर आन्तरिक आम्दानी गर्ने गरेको छ । अहिले पनि रातिमा विभिन्न शैलीमा उत्खनन भइरहेको छ । प्रशासनबाट नियमन प्रभावकारी भएको छैन। उनले भने ।

तपाईको प्रतिक्रिया