डोजर चलाउन मोहनमाया सफल-भत्किए सरकारी जग्गामा बनेका संरचना

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र नगर विकास समितिका कर्मचारीहरू बुधबार विहान डोजर लिएर निस्के । उक्त टोली घण्टाघर पुग्यो । सुर्खेत उपत्यका नगर विकास समितिको पूर्व सूचना बमोजिम सरकारी जग्गामा बनेका संरचना भत्काउन नगरपालिकाको टोली र नगर विकासको टोली डोजर र टिपर लिएर त्यहाँ पुगेको थियो ।

बुधबारलाई अन्तिम मिति दिएर सुर्खेत उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा भाडा लिएर बनाइएका संरचनाहरू भत्काउन निर्देशन दिएको थियो । उक्त निर्देशनमा यी जग्गामा विभिन्न व्यक्तिले भाडामा लिएर व्यवसायिक प्रयोजनका लागि बनाइएका संरचनाहरू खाली गर्नुपर्ने अन्यथा नगरले डोजर प्रयोग गरेर भत्काइदिने चेतावनी दिइएको थियो ।

नेपाली रैबारमा मंगलबार प्रकाशित यो समाचार पनि हेर्नुहोस ।

मोहनमायाले डोजर चलाउने हिम्मत गर्लिन ?

पुनः सचेतनाका लागि नगरले सोमबारबाट नगर क्षेत्रमा माइकिङ्ग गर्दै संरचना खालि गराउन आह्वान गर्दै आएको थियो । तर, व्यवसायीले अटेर गरेपछि घण्टाघर क्षेत्रमा बनेका संरचनामा डोजर चलाउन सुरु गरेको छ । संरचना खाली गर्न अल्टिमेटम दिएको लामो समयसम्म पनि टेरपुच्छर नलगाएका व्यवसायी शनिबारदेखि नगरका विरुद्धमा आन्दोलित बनेका थिए ।

पटक–पटक सूचना प्रकाशित गरेर विकल्प खोज्न नगरपालिकाले आग्रह गरे पनि शक्तिको आडमा नगरलाई व्यवसायीले आजित बनाएपछि वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख समेत रहेकी मोहनमाया ढकाल अन्ततः डोजर चलाउने निर्णयमा पुगिन् । ढकालको उक्त निर्णयलाई लिएर नगरका कर्मचारी र व्यवसायीबीच केही बेर घम्साघम्सी चल्यो ।

उग्र बनेका केही व्यवसायीले संरचना हटाउन पुगेको डोजरमाथि ढुङ्गामुढा प्रहार गरे । ढुङ्गामुढाले डोजरको सिसा क्षति पुग्यो भने चालकसहित नगरकका तीन जना कर्मचारी घाइते भएका छन् । केही बेर घण्टाघर क्षेत्र अशान्त बन्यो । व्यवसायीहरू नगरपालिकाको डोजरमाथि जाइलागेपछि अवस्था तनावग्रस्त बनेको हो । सरकारी सम्पत्तिमाथि तोडफोड हुँदा सुरक्षाका लागि नजिकै खटिइएको प्रहरीले भने एक्सन लिएन । प्रहरीको असयोगका कारणपछि हटेको नगरपालिकाले पुनः सुरक्षा निकायसँगको छलफलपछि डोजर खटायो ।

प्रहरीले सुरक्षा दिएपछि अन्ततः वीरेन्द्रनगरमा सरकारी जग्गा खालि गराउन सफल नेतूत्व सफल भयो । नगरले उपत्यका नगर क्षेत्रभित्र बनेका १ सय २५ वटा व्यवसायिक संरचनाहरू खाली गराउने छ । उच्च राजनीतिक दवावका बीच ढकालले अतिकम भाडा कबुल गरी जग्गा भाडामा लिएर आफूखुसी संरचना बनाई व्यवसायिक प्रयोजनमा लगाएर मोटो रकम असुल्ने बिचौलियाको हातबाट नगरको जग्गा फिर्ता ल्याउन सफल भएकी छिन् ।

सुर्खेत उपत्यका नगर विकास समितिको अध्यक्षसमेत रहेकी मेयर ढकालले नगर विकास समितिको स्वामित्वभित्रका सरकारी जग्गामा निर्माण गरिएका अस्थायी संरचनाहरू खाली गराएर त्यसलाई पार्किङको रुपमा विकास गरिने बताउँदै आएकी छन् । सोही बमोजिम नगरपालिकाको सहरी गुरुयोजना तयार गरी व्यवस्थित हरित शहर निर्माणका लागि समितिको मातहतमा रहेका जग्गाहरू खाली गराउने प्रतिवद्धता मेयर ढकालले गर्दै आएकी थिइन् ।

यस्तै नेपाल सरकार गूह मन्त्रालयले समेत सरकारी जग्गा सरकारकै नाममा ल्याउने जनाएको छ । रवि लामिछाने गूहमन्त्री भएकै दिन उनको पहिलो निर्णय नै सरकारी जग्गा सरकारकै नाममा ल्याउने जनाएका थिए । वीरेन्द्रनगरमा अझै पनि पहुँच र राजनितिक आडमा धेरै सरकारी जग्गाहरु व्यक्तीको कब्जामा रहेका छन् । अब सबै सरकारी जग्गाहरु सरकारकै नाममा ल्याउने निर्दैशन बमोजिम जिल्ला समन्नय समिति सुर्खेतको नाममा रहेका जग्गाहरु पनि हटाउन सुरु हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया