सुर्खेत । हाम्रा शैक्षिक संस्थाहरुमा अझै पनि परम्परागत रुपमै विद्यार्थीलाई घोकन्ते शिक्षा नै पढाइन्छ । कक्षा कोठामा शिक्षक अगाडि उभिने, डस्टर र मार्कर समाई किताब पढाउने गरिन्छ । तर, वीरेन्द्रनगरको एउटा विद्यालयमा भने फरक तरिकाले पठन–पाठन हुने गरेको छ । वीरेन्द्रनगर नगरपालिका–१०, मा रहेको शिद्धपाइला इङ्लिस मिडियम सकेण्डरी स्कुलमा ‘एबीएल’ अर्थात क्रियाकलापमा आधारित सिकाई (पढाई) हुने गरेको छ ।
यसरी अध्ययन–अध्यापन गराउने यो विद्यालय कर्णालीकै पहिलो विद्यालय हो, जहाँ नर्सरीदेखि कक्षा १२ सम्मको पढाई हुन्छ । कक्षा ८ सम्मका विद्यार्थीलाई भने ‘एबीएल’ र ‘पिबीएल’ माध्यमबाट अध्यापन गराइन्छ । ‘पिबीएल’ भनेको प्रोजेक्ट बेस्ट लर्निङ हो भने ‘एबीएल’ भनेको याक्शन बेस्ट लर्निङ हो । उक्त विद्यालयका सहायक प्रधानाध्यापक हिराकुमारी क्षेत्रीका अनुसार ‘एबीएल’ माध्यमबाट अध्यापन हुन थालेको एक बर्षअघिदेखि हो । अहिलेसम्म आउँदा उक्त विधि निकै प्रभावकारी भइरहेको उनको भनाइ छ । ‘एबीएल’ पुर्ण रुपमा प्रभावकारी भएको खण्डमा ‘पिबीएल’ विधिबाट पनि अध्यापन गराइने छ ।
‘यसको उद्देश्य भनेको दक्ष जनशक्ति उत्पादन गर्ने हो, पढाएर, रटाएर मात्रै नभई विद्यार्थीलाई काम पनि गराउँदै सिकाइरहेका छौँ,’उनले भनिन्, ‘विद्यार्थीहरुलाई पढेजस्तै भाछैन, खेलिरहनुभएको छ, सिकिपनि रहनु भएको छ, हामी पढ्न आएको हो भन्ने नै हुँदैन । हामी पहिला कक्षाकोठामै पढाउथ्यौँ, मार्कर, डस्टर लिने जाने पढाउने गरिन्थ्यो । अब नयाँ तरिकाले शिक्षाको विकास गर्नुपर्छ भन्ने लागेर यो विधिबाट पढाई गर्न थालिएको हो ।’
उनका अनुसार क्रियाकलापको अभ्यासले विद्यार्थीहरु खेल्दै, रमाउँदै सिक्ने विधिको विकासमा दत्तचित्त भइरहेका हुन्छन् । यो विद्यालयले विभिन्न शैक्षिक अभियान्ताहरुको समन्वय र सहकार्यमा उक्त कार्यक्रम लागु गरेको हो । क्रियाकलापमा आधारित सिकाईका सहजकर्ता तथा शैक्षिक अभियान्ता अर्जुन भट्ट एक बर्ष पहिले सुर्खेत आएका थिए । उनले अबको शिक्षा क्रियाकलापमा आधारित हुनुपर्छ र यो विधिबाट पढाउँदा निकै प्रभावकारी हुने विषयमा छलफल गरे । त्यसपछि शिद्धपाइलाका शिक्षकहरुलाई प्रशिक्षण पनि दिए, उनले १२ दिनको । लगत्तै विद्यालयमा ‘एबीएल’ विधिबाट पठन–पाठनको सुरुवात भयो ।
सहायक प्रधानाध्याक क्षेत्रीका अनुसार विषय अनुसार सिकाईका आधारित पढाई हुन्छ । उदारणका लागि नेपाली विषयको जोडा मिलाउने च्याप्टर आयो । त्यसलाई चित्र अथाव कुनै सामाग्रीको प्रयोग गर्ने, त्यसमा लेख्ने पनि अनि त्योसँग मिल्नेसँग जोडा पनि मिलाउने । शिक्षकले पोट्याटो भन्दा विद्यार्थीले आलुको दाना नै समाउने अनि चिन्ने । यसले नेपाली र अङ्ग्रेजी दुबैमा चिन्न सजिलो हुन्छ ।
प्रत्येक विषयमा शिक्षकहरुले सम्बन्धित विषय अनुसारका सामाग्रीहरुको प्रयोगमा आधारित अध्यापन गराउने गरेका छन् । ‘यो विधिको पढाई निकै प्रभावकारी भएको छ, पहिला विद्यार्थीहरु स्कुलमै आउन मान्थेनन्, अभिभावकहरुले पनि मेरो बच्चा स्कुल आउनै मान्दैन भनेर फोन गर्नुहुन्थ्यो,’उनी भन्छिन्, ‘हामी ल्याइदिनुहोस् हामी फकाउछौँ भनेर त भन्थेम तर, गाह्रो हुन्थ्यो । आजभोली विषयसँग सम्बन्धित कुराहरु खेलाउँदै, सिकाउँदै गर्दा विद्यार्थीहरु पनि सहज रुपमा स्कुल आइहाल्ने, खुसी हुँदै सिक्छन् ।’ पढाएर, रटाएर मात्रै नभई काम पनि गराई दक्ष विद्यार्थी उत्पादन गर्ने विद्यालयको लक्ष्य रहेको उनी बताउँछिन् ।
विद्यालयका प्रधानाध्यापक नैनसिं खत्री यसलाई अझै प्रभावकारी ढंगले अघि बढाइने बताउँछन् । ‘कार्यान्वयनमा सुरुसुरुमा केही कठिनाई हुन्छ, जब कार्यान्वयनमा लिइसक्यो निकै प्रभावकारी हुन्छ,’उनले भने, ‘पाठ्यपुस्तक भन्दा यो निकै प्रभावकारी हुन्छ । कन्टेनबेसमा विद्यार्थी र शिक्षक दुबै सहभागी हुने हुँदा अरुले भनेको भन्दा आफैले गरेको काम बढी प्रभावकारी हुन्छ ।’ उनको बुझाइमा ढिलो–चाँडो अबको शिक्षा प्रणाली ‘एबीएल’ र ‘पिबीएल’ विधिमै जान्छ । किनभने शिक्षकले बालबालिकालाई घोकन्ते बनाई पाठ्यपुस्तक सकाएर मात्रै हुँदैन । परीक्षाका लागि मात्रै पढेको जस्तो भयो । उनी भन्छन्, ‘बच्चाले घोकेर परीक्षामा नम्बर त ल्याउला, प्राक्टिकल रुपमा त्यो व्यवहारीक भएन । विद्यार्थी आफैँ सहभागी हुने भएकाले यो विधि नै उत्तम विधि हो ।’ सरोकारवालाहरुले पनि पछिल्लो समय शैक्षिक सुधारको प्रभावकारी माध्यम नै ‘क्रियाकलापमा आधारित सिकाई’लाई नै लिने गरेका छन् ।
शैक्षिक अभियान्ता अर्जुन भट्ट नेपालमा प्रयोग भएको एउटा मात्र विधि क्रियाकलापमा आधारित सिकाई भएको दाबी गर्छन । कोठाभित्रको अध्ययन, अध्यापन भन्दा खुल्ला वातावरणको सिकाई क्रियाकलाप बढी प्रभावकारी हुने उनी बताउँछन् । कहरले नभई रहरले पढ्ने वातावरणले मात्र स्कुल खेल्दै, रमाउँदै सिक्ने मुनाहरुको उद्यान बन्न सक्ने उनले बुझाई छ । शिद्धपाइला स्कुल व्यवस्थापन समितिका अध्यष विष्णुप्रसाद तिवारी क्रियाकलापमा आधारित सिकाईले विद्यालयको शिक्षण शैलीमा नै परिवर्तन आएको बताउँछन् । कक्षा १२ सम्म अध्यापन हुने यो विद्यालयमा एक हजार १ सय ५० विद्यार्थी छन् । ८ कक्षाभन्दा तलमात्रै करिब ९ सयको हाराहारीमा विद्यार्थी छन् ।
नेपालीरैबार । २०८० चैत्र ३, शनिबार