काठमाण्डौँ। प्रतिनिधिसभाले जसपाकी सांसद मञ्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकले सांसद अन्सारीको निधनप्रति दु:ख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभाको बैठक सकिएको छ । प्रतिनिधिसभाको अर्को बैठक सोमबार बिहान ११ बजे बस्नेछ ।
६० वर्षीय जसपाकी सांसद अन्सारी आइतबार बिहान उपचारका क्रममा मिनभवनस्थित सिभिल अस्पतालमा निधन भएको थियो । २०२० साल माघ १९ मा जन्मिएकी अन्सारी २०७९ साल चैत १९ मा समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य भएकी थिइन् ।
समानुपातिक सांसद शहनाज रहमानको २०७९ फागुन १३ मा निधन भएपछि रिक्त रहेको स्थानमा अन्सारी सांसद बनेकी थिइन् । २०४६ सालको आन्दोलन देखि राजनीतिक यात्रा सुरुवात गरेकी अन्सारी सद्भावना पार्टीमा आबद्ध भई २०४६ सालदेखि २०५६ सम्म उपत्यका महिला इन्चार्ज बनेकी थिइन् ।
अन्सारी हाल जसपा नेपालको पोलिटब्युरो सदस्य रहेकी थिइन् ।
नेपालीरैबार । २०८० चैत्र ४, आईतवार