कर्णालीमा बालविवाह दर ३७.९

सुर्खेत। कर्णाली प्रदेशमा बालविवाह दर ३७९ प्रतिशत रहेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार नेपालमा विवाह गर्न तोकिइएको उमेर भन्दा पहिले नै विवाह गर्नेको सङ्ख्या ३७.९ प्रतिशत रहेको छ ।

नेपालमा पुरुष र महिला को हकमा विवाह गर्ने उमेर २० वर्ष तोकिएको छ। कर्णालीमा बालविवाह रोक्न कर्णालीमा दर्जनौ संघसंस्थाहरु सक्रिय रुपमा लागिपरे पनि यसको नतिजा भने न्युन रहेको देखिन्छ ।

कर्णाली प्रदेशको जिल्लागत तथ्यांक हेर्दा  सबैभन्दा धेरै बालविवाह सल्यानमा हुने गरेको छ। सल्यानमा उमेर नपुग्दै ४३ प्रतिशतले बालविवाह गर्ने गरेका छन्। सल्यानपछि धेरै बालविवाह हुने जिल्ला रुकुमपश्चिम रहेको छ। रुकुमपश्चिममा ४२.३ प्रतिशतले बालविवाह गर्ने गरेको जनगणनाको तथ्यांकले देखाउछ। तथ्यांक अनुसार कर्णालीमा कम बालविवाह हुनेमा कालिकोट रहेको छ । कालिकोटमा २८.१ प्रतिशत रहेको छ ।

जाजरकोटमा ४०.८, सुर्खेतमा ३८.७, मुगुमा ३५.९, डोल्पामा ३२.१, हुम्लामा ३३.७, जुम्लामा ३४.७ र दैलेखमा ३५.२ प्रतिशतले उमेर नपुग्दै विवाह गर्ने गरेका छन्। कर्णालीमा बालविवाहको दर, वासस्थान, भौगोलिक क्षेत्र, शैक्षिक अवस्था, घरपरिवारको आम्दानीको स्तर, जातजातिको आधारमा फरक–फरक रहेको तथ्यांकले देखाएको छ।

यस्तै, कर्णालीका ग्रामीण भेग र सीमान्तकृत समुदायमा बालविवाह बढी देखिएको छ। कतिपय सामाजिक तथा धार्मिक विश्वासका आधारमा बालविवाहलाई मान्यता पनि दिने गरिएको जनगणनाको तथ्यांकमा उल्लेख छ।

बालअधिकारका लागि साझा अभियान कर्णालीका टेकराज आचार्यका अनुसार कर्णालीमा बालविवाह बढी हुनुमा अशिक्षा र जनचेतनाको कमी हो । कर्णालीमा बढ्दै गएको बालविवाहको ग्राफ घटाउनका लागि जनचेतनाको अभियानलाई तीनै तहका सरकारले घरपरिवार, विद्यालय तथा समाजिकस्तरमा व्यापक बनाएर लैजानु पर्ने आवश्यकता रहेको छ ।

तपाईको प्रतिक्रिया