काठमाडौं। मदिरा सेवन गरी कार चलाएर दुर्घटना गरेपछि बिगत दुई दिनदेखि प्रहरी नियन्त्रणमा रियालिटी शो ‘कमेडी च्याम्पियन’का निर्देशक विशाल भण्डारी रिहा भएका छन् । प्रहरीले घाइतेको सबै उपचार खर्च ब्यहोर्ने शर्तमा उनलाई हाजिर जमानीमा रिहा गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
‘शनिबार घाइतेका परिवारसँग छलफल गरेर उपचार खर्च बेहोर्ने गरी कागज भएपछि हाजिर जमानीमा छाडेका छौँ’। ‘घाइते तलमाथि केही भयो भने अर्को कारबाही अगाडि बढ्छ ।’जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी वेद विष्टले भने ।
दुर्घटनामा कमेडियन सुशान्त बस्याल गम्भीर घाइते भएका छन् । उनको टाउकाको अपरेसन गरिएको र अहिले पनि आईसीयुमै रहेका छन् । बिहीबार निर्देशक भण्डारीले चलाएको बा–१–०२६ ०३५९ नम्बरको कार भक्तपुरको जगाती नजिकको सडकमा अनियन्त्रित भएर रोकिराखेको टिप्परसँग ठोक्किएको थियो ।
दुर्घटना लगतै सबैलाई मध्यपुर ठिमी अस्पतालमा लगिएको थियो । कारमा निर्देशक भण्डारीसँगै पूजन अधिकारी, सुशान्त बस्याल, रजनीश अर्याल, प्रकृति गिरी र पवन भट्टराई रहेका थिए ।
नेपालीरैबार । २०८० चैत्र ११, आईतवार