आज हुने नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको खेल रद्द

काठमाडौं। आज हुने नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको टी–२० क्रिकेट प्रतियोगिता अन्तरगतको पहिलो खेल रद्द गरिएको छ । खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिने तय थियो । तर वर्षाका कारण खेल रद्द गर्नुपरेको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको हो ।

आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ सँग तीनवटा टी–२० र तीनवटा एकदिवसीय प्रतियोगिता खेलने कार्यक्रम रहेको छ । यसअघि नेपालको राष्ट्रिय टोली र आयरल्यान्ड ‘ए’ बिच खेलिएको दुई खेलको टी–२० शृंखलामा नेपाल २–० ले विजयी भएको थियो । नेपालको राष्ट्रिय टोलीले पहिलो खेलमा आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपाली टोली ७१ रनले विजयी भएको थियो ।

क्यानले आयरल्यान्ड ‘ए’ विरुद्ध टी–२० र एकदिवसीय खेल्न यसअघि नै आफ्नो छुट्टाछुट्टै टोलीको घोषणा गरिसकेको छ । क्यानले टी–२० शृंखलाका लागि विनोद भण्डारीको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको दोस्रो टी–२० खेल शुक्रबार खेलिने छ । तेस्रो टी–२० खेल भने आइतबार खेलिने छ । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको पहिलो एकदिवसीय अप्रिल ३, दोस्रो एकदिवसीय अप्रिल ५ र तेस्रो एकदिवसीय अप्रिल ७ तारिखमा खेलिने छ ।

तपाईको प्रतिक्रिया