रुकुमपश्चिमका ७० जना किसानलाई गोलासहितको मौरीघार वितरण

सुर्खेत। रुकुमपश्चिमका किसानलाई अनुदानमा गोलासहितको मौरीघार वितरण गरिएको छ । कृषि विकास कार्यालय रुकुमपश्चिमले आर्थिक वर्ष २०८०-८१ को विनियोजित बजेटबाट ७० जना किसानलाई गोलासहितको मौरी घार वितरण गरिएको हो ।

कृषि विकास कार्यालय रुकुमपश्चिमका प्राविधिक सहायक महेश चन्दका अनुसार जिल्लाका त्रिवेणी, सानीभेरी गाउँपालिका तथा मुसीकोट नगरपालिकाका ७० जना किसानलाई गोलासहितको मौरी घार वितरण गरिएको हो । प्रत्येक किसानलाई एकरएक वटाका दरले गोलासहितको मौरी घार वितरण गरिएको हो ।

साथै टोपी, कुइँगेट र पञ्जा ७०-७० वटा वितरण गरिएको छ । कृषि विकास कार्यालयको ५० प्रतिशत अनुदान र कृषकको ५० प्रतिशत लगानीमा कृषकलाई मौरी घारसहित अन्य सामग्री वितरण गरिएको प्राविधिक सहायक चन्दले जानकारी दिए । उनका अनुसार गोलासहितको घारलाई नौ हजार परेकामा चार हजार पाँच सय अर्थात् ५० प्रतिशत किसानको लगानी रहेको छ ।

आठबिसकोट नगरपालिका-११ डाँडागाउँबाट गोलासहितको मौरी घार ल्याएर कृषकलाई वितरण गर्न लागिएको हो । बाँकी छुटेका ४० जना कृषकलाई केही दिनमा सल्यानबाट मौरी घार ल्याएर वितरण गरिने प्राविधिक सहायक चन्दले बताए । अनुदानमा किसानलाई मौरी घार वितरण गर्न कृषि विकास कार्यालयले पाँच लाख बजेट विनियोजन गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया