सुर्खेत। जुम्लामा विद्युत् उत्पादनका निम्ति जल प्रवाह हुने नहर पहिरोले भत्काएपछि बिजुली आपूर्ति बन्द भएको छ । जुम्लाको डिल्लीचौर जलविद्युत् आयोजना अवरुद्ध हुँदा स्थानीयवासी अन्धकारमा बस्न बाध्य भएका हुन् ।
विद्युत् सहकारीका अध्यक्ष कृष्णबहादुर बुढाका अनुसार पच्चीस मिटर नहर पहिरोले भत्काएको छ । गत असारमा पहिरो गएपछि नहर चर्किएको थियो । त्यतिबेलादेखि नै नहर मर्मतको पहल भएको हो । तर समयमै मर्मत नभएपछि यही चैत २४ गतेदेखि पूर्ण रूपमा विद्युत् सेवा अवरुद्ध भएको हो ।
अध्यक्ष बुढाले भत्केको नहर मर्मत गर्न रु छ लाख बजेट आवश्यक पर्ने प्राविधिकले बताएका जानकारी दिए । विद्युत् अवरुद्ध हुँदा पालिकाका–४, ५ र ६ वडाका करिब आठ सय घर विद्युत् सेवाबाट वञ्चित भएका छन्भने गाउँपालिका, वडासहित अन्य सरकारी निकाय, बैंक तथा वित्तीय संस्थालाई समस्या भएको छ ।
डिल्लीचौर विद्युत् आयोजनाको नहर मर्मत गर्न पालिकाबाट रु तीन लाख बजेट विनियोजन भएको छ । तत्काल नहर मर्मत गरेर विद्युत् आपूर्तिको पहल थालिएको पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले बताए ।
नेपालीरैबार । २०८० चैत्र २७, मंगलवार