हुम्लामा किसानलाई तरकारीको बीउ वितरण

सुर्खेत। हुम्लाका किसानलाई तरकारीको बीउ वितरण गरिएको छ। जिल्लामा सिङ्गो वडालाई तरकारीको हब बनाउनका लागि किसानलाई तरकारीको बीउ सहयोग गरिएको हो । व्यावसायिक तरकारी खेती गरेर आम्दानीको स्रोत बनाउनका लागि बीउ सहयोग गरिएको हो ।

खार्पुनाथ गाउँपालिका– ५ का किसानले तरकारीको बीउ पाउदा आफ्नो व्यवसायिक तरकारीमा सहयोग पुग्ने बताए । तरकारीको बीउ पाउदा खुसी भएको व्यक्त गर्दै बीउ सहयोग गर्ने वडालाई धन्यवाद व्यक्त गरेका छन् ।

वडा अध्यक्ष भरतजंग शाहीका अनुसार वडालाई नै तरकारीको हब बनाउनका लागि बीउ सहयोग गरिएको हो । तरकारी खेतीबाट स्थानीयको स्वास्थ्यमा सुधार ल्याउन र तरकारी बिक्रीबाट आम्दानी बढाउनको लागि उक्त कार्य गरिएको हो। वडाको आर्थिक सहयोगमा काउली, बन्दा, साग, टमाटर, गाँजर, प्याज, धनियाँ, खुर्सानीलगायत १० प्रकारका बीउ किसानलाई उपलब्ध गराइएको छ ।

३२० घरधुरी भएको वडाका नौ वटा बस्तीमा पुगेर वडा अध्यक्ष शाहीको उपस्थितिमा उक्त बीउ सहयोग गरिएको हो । दुई लाख बजेट खर्च गरी बीउ वितरण कार्य गरिएको हो ।

तपाईको प्रतिक्रिया