
सुर्खेत। रुकुमपश्चिमको बाँफिकोट गाउँपालिकामा आगलागीका कारण १८ वटा घर जलेका छन् । आइतबार दिउँसो वन क्षेत्रबाट गाउँतर्फ सल्केको आगलागीका कारण सोमबार बिहानसम्म बाँफिकोटमा १८ घर जलेका हुन् भने ९० घर जोखिममा छन् ।
बाँफिकोट गाउँपालिका वडा नम्बर २ मा १० र वडा नम्बर ३ मा आठ वटा घर जलेका हुन् । वडा नम्बर २ का वडा अध्यक्ष प्रकाश खत्रीका अनुसार आइतबार दिउँसोबाट लागेको आगलागीका कारण रातभर १० वटा घर र दर्जनौ गोठ नष्ट भएका छन् । वडाको नेट्टेमा दुई वटा, मेगे र कलजुतेमा आठ वटा घरमा आगलागी भएको उनले बताए। आगलागी उच्च लेकतर्फ फैलिएकोले त्यहाँ रहेका दर्जनौँ गोठहरु जलेको वडा अध्यक्ष खत्रीले जानकारी दिए ।
उनका अनुसार अनियन्त्रित बनेको आगलागीका कारण रत्तकाटे र भाटी बस्ती उच्च जोखिममा छन् । दुई टोलमा करिब ९० घर छन् । आइतबार दिनभर स्थानीयवासीले आगो निभाउने कोशिस गर्दा पनि नियन्त्रण गर्न नसकिएको बताइन्छ । आगलागी अनियन्त्रित भएपछि स्थानीयवासीलाई सजक रहन र धनमालको सुरक्षा गर्न अनुरोध गरिएको छ ।
त्यसैगरी वडा नम्बर ३ को दारकाट्टे र चौरपोखरीमा आठ वटा घर जलेको वडाध्यक्ष तिलबिर केसीले जानकारी दिए। उहाँका अनुसार स्थानीय ढारपाखा सामुदायिक वनबाट फैलिएको आगो गाउँमा पस्दा उक्त क्षति भएको हो । आइतबार नै घरमा आगो सल्केपछि घरभित्र रहेका गहना निकाल्न घरभित्र छिरेकी ७० वर्षीया बुदी कामीको मृत्यु भएको थियो ।
वडा अध्यक्ष केसीले उक्त क्षेत्रको आगलागी नियन्त्रणमा आएको र अन्य क्षतिको विवरण सङ्कलन गर्न थालिएको बताएका छन् । दुबै वडामा भएको आगलागीका कारण भने खुल्न सकेको छैन ।

नेपालीरैबार । २०८१ बैशाख १०, सोमबार