
सुर्खेत। जुम्लामा बाँदरको बिगबिगी बढ्दै गएपछि किसानहरु चिन्तित बनेका छन् । जिल्लाका विभिन्न ठाउँमा पाक्नै लागेको गहुँ बाली बाँदरले सखाप पार्न थालेपछि किसान चिन्तित बनेका हुन् । किसानले खेतबारीमा लगाएको हिउँदे अन्नबाली बाँदरले नष्ट गर्न थालेपछि भोकमरी पर्न सक्ने भन्दै किसानको चिन्ता बढेको हो ।
जिल्लाका नौ वटै स्थानीय तहमा खडेरीबाट बल्लतल्ल जोगाएको गहुँ बाली बाँदरको मुखमा पर्न थालेको छ । सधैँ जसो खाद्य सङ्कट पर्ने यो जिल्लामा यस पटक झन् खाद्य सङ्कट आउने स्थानीय सरकारले अनुमान गरेको छ । महावै गाउँपालिका उपाध्यक्ष दानसिंह सेजुवालका अनुसार खेतबारीमा फलेको अन्नबाली किसानले भित्र्याउन नपाउँदै बाँदरले खाएपछि चिन्ता थपिएको हो। गहुँ, तरकारी, फलफूललगायतका बालीनाली बाँदरले नष्ट गर्न थालेपछि आफ्नो गाउँपालिकाभित्रको राम्नी कोटबाडा, औलगेला, गणेशकोटलगायत अधिकांश ठाउँमा जमिन बाँझै रहेको छ ।
खाँडाचक्र नगरपालिका–५ का सदानन्द तिमिल्सेनाले पनि आफूहरूले बाँदर आतङ्क झेल्दै आएको गुनासो गरे । “खाना पकाएर अन्य कामका लागि बाहिर गएका बेला बाँदरले घरभित्र पसेर खानसमेत दिँदैनन्,” तिमिल्सेनाले भने, “अन्नबाली त्यसै गरी नष्ट गरिदिन्छन् । अचेल बाँदर धपाउँदै दिन बित्छ ।”जिल्ला कृषि विकास कार्यालयका प्रमुख भरत बस्नेतले जति दुःख दिए पनि बाँदरलाई मार्न वा क्षति पुर्याउन नपाइने बताए ।
वन्यजन्तु संरक्षण ऐनले बाँदरलाई मार्न नपाइने जनावरका रूपमा सूचीकृत गरेको भन्दै उनले स्थानीय सरकारले बाँदर धपाउने यन्त्र प्रयोग गरेमा किसानलाई राहत हुन सक्ने सुझाव दिए । जिल्लाका विभिन्न गाउँमा बाँदरले बाली खाइदिएपछि गुनासो बढेको कार्यालय प्रमुख बस्नेतको भनाइ छ । कृषकले बाँदरको व्यवस्थापन एवं क्षतिपूर्तिको माग गर्दै आए पनि त्यस सम्बन्धमा स्पष्ट नीति तयार नहुँदा उनीहरूले राहत तथा क्षतिपूर्ति पाउन सक्ने अवस्था छैन ।

नेपालीरैबार । २०८१ बैशाख १४, शुक्रबार