२२ दिनसम्म पनि सरकार विस्तार गर्न मुख्यमन्त्री कँडेल ‘असक्षम’

आज सरकार विस्तार हुने एमालेको दाबी, यि हुन सम्भावित मन्त्रीहरु

सुर्खेत । यतिका दिनसम्म पनि सरकारले पुर्णता पाउन सकेन, लोकलाज मान्नुपर्ने हो, जनताले के भन्लान्—प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक हिक्मत विष्टले सोमबारको प्रदेश सभा बैठकमा राखेको भनाई हो यो । उनले भनेजस्तै मुख्यमन्त्री यामलाल कँडेलले २२ दिन बित्दापनि सरकारलाई पुर्णता दिन सकिरहेका छैनन ।

वैशाख १२ गते माओवादी केन्द्रका सांसद रणसिं परियारलाई मन्त्री नियुक्त गरे पनि उनले मन्त्रालय जिम्मा पाएका छैनन । यतिबेला आगामी आर्थिक बर्षको बजेट निर्माण गर्ने समय हो तर, मुख्यमन्त्री कँडेलले आफ्नै दलभित्र कसलाई मन्त्री बनाउने हो भन्ने विषय टुङ्ग्याउन नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको स्रोतको दाबी छ । सोमबारको प्रदेश सभा बैठमा मन्त्री नहुँदैमा सरकारका कुनै कामकारबाही नरोकिएको कँडेलले बताए । उनले भने, ‘छिट्टै पुर्ण आकारको सरकार भएको देख्नु पाउनुहुन्छ ।’ चैत्र २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका उनलाई आफ्नो दल एमालेभित्र कसलाई मन्त्री बनाउने हो भन्ने विषयमा समस्या भइरहेको छ ।

यता सत्तारुढ दल नेकपा माओवादीले आइतबार नै मन्त्रीको नाम मुख्यमन्त्रीलाई बुझाइसकेको छ । माओवादी संसदीय दलका नेता राजकुमार शर्माले भने, ‘बाहिर माओवादीका कारण सरकार विस्तार हुन सकेन भन्ने पारिएको छ । सरकार गठनमा माओवादीबाट कुनै रोकतोक भएको छैन । हामीले चाहेर ढिलाढाला भएको पनि हैन, प्रदेशले चाहेर उथलपुथल भएको पनि छैन । मुख्यमन्त्रीका केही बाध्यता र विवशता सरकार गठनमा ढिलाई भएको होला ।’

माओवादीका सांसदहरु एमालेकै ढिलासुस्तीका कारण सरकार विस्तार हुन नसकेको दाबी गर्छन । यसअघि दुई दलहरुबिच मन्त्रालय भागबण्डाको टुङ्गो लागिसकेको छ । जस अन्तर्गत माओवादीले अर्थ, सामाजिक, ऊर्जा र उद्योग मन्त्रालय पाएको छ । एमालेले भौतिक, कृषि र कानुन मन्त्रालय पाएको छ ।

माओवादीले विन्दमान विष्ट, महेन्द्र केसी, दुर्ग रावत र वीरबहादुर शाहीमध्ये तीन जनाको नाम पठाएको छ । तर मुख्यमन्त्री कँडेलले आफ्नो दलभित्र मिलाउन सकेका छैनन । एमालेबाट विनोद शाह, जीतबहादुर मल्ल, शेर बहादुर बुढा, दक्षिणा शाही मन्त्रीका लागि सम्भावित व्यक्तिमा पर्दछन् । मन्त्रिपरिषद्मा एक जना महिलालाई अनिवार्य पठाउनुपर्ने भएकाले कँडेलले माओवादीबाट महिला पठाउन भनिरहेको माओवादीका प्रमुख सचेतक समेत रहेका विना विभागीय मन्त्री रिणसिं परियारले बताए । तर, माओवादीले दलितबाट परियारलाई पठाइसकेकाले महिला पठाउन नसक्ने भनिसकेको छ ।

एमालेका एक सांसदले पार्टीभित्रकै आन्तरिक समस्याले ढिलाई भएको दाबी गरे । मुख्यमन्त्री कँडेल निकट स्रोतले भने मंगलबार मन्त्रिपरिषद् विस्तार भइसक्ने दाबी ग¥यो । ‘सोमबार नै हुन्थ्यो होला, प्रदेश सभा बैठक भएकाले ढिलाई भएको हो, मंगलबार (आज) पहिलो राउण्डमै सरकार विस्तार हुन्छ,’एमाले स्रोतले भन्यो, ‘सरकार विस्तारको खाका पनि बनिसक्यो ।’

तपाईको प्रतिक्रिया