जसपा विभाजनले प्रचण्ड ढुक्क, माधव नेपाल र उपेन्द्र यादवको सपना चकनाचुर,

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) विभाजनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राहत मिल्ने भएको छ । पार्टी विभाजनको पक्षमा रहेका राजेन्द्र श्रेष्ठले सरकारलाई समर्थन रहने बताएका छन् । पार्टी विभाजनका लागि निर्वाचन आयोग पुगेका श्रेष्ठले उपेन्द्र यादवले सरकारको समर्थन फिर्ता लिन खोजेपछि पार्टी विभाजनमा लागेको बताएका हुन् । उनले भने, ‘उपेन्द्र यादवले समर्थन फिर्ता लिएर अस्थिरता ल्याउन खोजे । त्यसैले अहिलेको कदम चाल्नुपरेको हो ।

पछिल्ला केही सातादेखि प्रधानमन्त्री प्रचण्डको विकल्पको खोजी भइरहेको थियो । त्यसका लागि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल निकै सक्रिय भएर लागेका थिए । माधव नेपालले कांग्रेसको सहयोगमा प्रधानमन्त्री हुने चाहना राखेका थिए । त्यसका लागि नेपालले सक्रियतामात्रै देखाइरहेका थिएनन्, सार्वजनिक अभिव्यक्ति पनि दिएका थिए । स्रोतको दाबीमा त नेपालले प्रचण्डलाई भेटेर आफूले १३८ सांसद पुर्‍याएकोले बाटो खुला गरिदिन आग्रह पनि गरेका थिए । त्यसले परिस्थिति बिग्रिँदै गएको संकेत गेको थियो ।

संघीय सरकारबाट माधव नेपाल बाहिरिएको अवस्थामा प्रदेश सरकारहरू पनि समस्यामा पर्ने थिए । त्यसको सबैभन्दा ठूलो मार मधेश प्रदेशमा पर्ने थियो । एसले छोडेलगत्तै उपेन्द्र यादव नेतृत्वको जसपाको मधेश प्रदेश सरकार ढल्ने अवस्थामा थियो । त्यही कारण यादवले पनि माधव नेपालको बाटो समात्ने संकेत गरेका थिए । यादव र नेपालले एकसाथ सरकार छोड्दा प्रचण्डको सरकार ढल्नेमात्र होइन, मधेश प्रदेश सरकारसहित संघीय सरकारमा एमाले र माओवादीइतरको सरकार बन्ने अवस्था सिर्जना हुने थियो ।

कांग्रेसको समर्थनमा नेपाल प्रधानमन्त्री हुने अवस्था आउने थियो । त्यही अवस्था रोक्नका लागि प्रचण्ड र केपी ओली प्रयासरत थिए । जसपामा देखिएको विभाजनले पनि माधव नेपालको उक्त प्रयासलाई मत्थरमात्र पारेको छैन, ब्रेक लगाइदिएको छ । उपेन्द्र यावदका लागि पनि निकै ठूलो चोट आइपरेको छ । जसपाका सहअध्यक्ष श्रेष्ठले सरकारको निरन्तरताको पक्षमा रहेको प्रस्टसँग बताए ।

उनले  भने, ‘अहिलेको सरकार ढालेर अस्थिरता निम्ता गर्नु गलत हुने भएकोले पार्टी विभाजनको अवस्थामा पुगेको हो ।’ त्यसरी हेर्दा उपेन्द्र यादव र माधव नेपालले सरकार छोड्दा पनि प्रधानमन्त्री प्रचण्डको पक्षमा एमालेका ७८ सांसद, माओवादी केन्द्रका ३२, रास्वपाका २१, अशोक राई, प्रदीप यादव समूहका ८ , नागरिक उन्मुक्ति पार्टीका ४ सांसद गर्दा १४३ जना हुन्छन् । अमेरिकाबाट फर्केलगत्तै उपेन्द्र यादवले सरकार छोड्ने सम्भावना रहेको छ ।

यादवसँगै माधव नेपालको एसले पनि सरकार छोडेको घोषणा गर्न सक्ने विश्लेषण पनि भइरहेको छ । उपेन्द्र यादवले सरकार छोडेको घोषणा गर्नेबित्तिकै सीके राउतको जनमत पार्टी पनि सरकारमा आउने सम्भावना रहेको छ । जनमत जोडिनेबित्तिकै प्रदेश सरकार बनाउन पनि एमाले र माओवादीको गठबन्धनलाई समस्या हुने छैन । माधव नेपालले सरकार छोड्दा भने प्रदेश प्रभावित हुने खतरा रहेको छ ।

तर, माधव नेपालका अधिकांश सांसद र पार्टी नेता अहिलेकै गठबन्धनको पक्षमा रहेका छन् । त्यसैले परिस्थिति सहज भने छैन । त्यसो त, नेपालको विकल्पमा राप्रपालाई साथ लिने गरी ओली र प्रचण्डले प्रयास गरिरहेका छन् । राप्रपाको साथ पाए प्रदेशमा पनि सहज हुने अवस्था रहेको छ । त्यसैले, राजेन्द्र श्रेष्ठको भनाइ आधार मान्दा जसपाको विभाजनले प्रचण्ड र ओली इतरको सरकार बनाउने प्रयास तत्कालका लागि टरेको देखिन्छ ।

– शिलापत्र

तपाईको प्रतिक्रिया