वीरेन्द्रनगरकाे हटियामा रहेकाे हङकङ बजारले अब जुम्लाराेडबाट सेवा दिने

सुर्खेत । सुर्खेतकाे वीरेन्द्रनगरमा हाल बन्द अवस्थामा रहेको ‘हङ्गकङ बजार’ फेरि सञ्चालनमा आउने भएका छन् । नगरपालिकाको सरकारी जग्गामा भाडामा विगत तीन दशकयता संचालन भएको ‘हङ्गकङ बजार’ नगरले भाडा फिर्ता लिएपछि बन्द हुन पुगेको थियो ।

केहि समयका लागि बन्द भएको ‘हङ्गकङ बजार’ अब बजाज स्वरुम नजिक कर्णाली राजमार्ग छेउमा संचालन हुने भएको हो । केही समयअघि वीरेन्द्रनगर–६ स्थित हटियालाईन आसपासबाट सञ्चालन हुँदै आएको हङ्गकङ बजार अबदेखि मुख्य राजमार्ग जुम्ला रोडमा पुनर्स्थापन हुन लागेको छ ।

बजाज शो–रुमको आडमा संरचना निर्माण गरी थप सेवासुविधासहित एक महिनाभित्र सञ्चालनमा आउने भएको छ । ‘हङ्गकङ बजार’ संचालनका लागि चाहिने संरचना निर्माणको काम सुरु भइसकेको छ ।

करिब १५ करोड लगानीमा नयाँ व्यवस्थापनसहित ‘हङ्गकङ बजार’ संचालन गर्न लागिएको बजार व्यवस्थापन समितिले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । समितिका अध्यक्ष प्रेमकुमार श्रेष्ठका अनुसार ‘हङ्गकङ बजार’ का लागि साढे ६ कट्ठा जमिनमा संरचना निर्माण सुरु गरिएको छ ।

अब बन्ने ‘हङ्गकङ बजार’ क्षेत्रमा ५० वटा सटर रहनेछन् । ५० जना व्यवसायीसहित २५० जनाले नयाँ संचालन हुने बजारबाट प्रत्यक्ष रोजगारी पाउने समितिले जनाएको छ । अब नयाँ व्यवस्थापनसहित संचालनमा आउने हङ्गकङ बजारमा फेन्सी पसलका साथै साकाहारी तथा मांसहारी एक/एक वटा रेष्टुरेण्ट पनि हुनेछन् । बजार क्षेत्रभित्रै पार्किङको पनि व्यवस्था रहनेछ ।

तपाईको प्रतिक्रिया