जाजरकोट र रुकुमपश्चिम जोड्ने भेरी नदीमाथि तल्लुबगरको बेलिब्रिज सञ्चालनमा

सुर्खेत। भेरी करिडोर अन्तर्गत रुकुमपश्चिमको आठबीसकोट नगरपालिका –४ छरेबगर र जाजरकोटको नलगाड नगरपालिका –१२ जोड्ने भेरी नदीमाथि तल्लुबगरको ‘बेलिब्रिज’ सञ्चालनमा आएको छ ।

त्रिदेशीय व्यापारिक सडक भेरी करिडोरको प्रमुख पूर्वाधारका रुपमा रहेको तल्लुबगर ‘बेलिब्रिज’ शनिबारबाट सञ्चालनमा आएको छ । भेरी करिडोर कार्यालय जाजरकोटका प्रमुख सुनिल रञ्जितकारले भारत–नेपाल हुँदै चीन जोड्ने भेरी करिडोर अन्तर्गत तल्लुबगर बेलिब्रिज निर्माण सम्पन्न भएपछि सञ्चालनमा आएको बताए ।

बेलिब्रिज सञ्चालनमा आएसँगै अब डोल्पा जिल्लासँग सिधा सडक सञ्जाल जोडिएको छ । तीन वर्षअघि सडक डिभिजन कार्यालय चौरजहारीले सो बेलिब्रिज निर्माणका लागि ठेक्का खुलाएको थियो । काम सुरु भएको तीन वर्षपछि बेलिब्रिज सञ्चालनमा आएको हो ।

२०७८ पुसमा हिम सगरमाथा खड्का कृष्ण जेभीले तीन करोड ८१ लाख रुपियाँमा ‘बेलिब्रिज’ निर्माणको ठेक्का पाएको थियो । विविध कारणले ‘बेलिब्रिज’ निर्माणमा ढिलासुस्ती भए पनि अहिले निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ ।

गत वर्षको वैशाख ७ गते बेलिब्रिज निर्माणको क्रममा भाँचिएपछि दुई जना कामदारको मृत्यु भएको थियो भने सात जना घाइते भएका थिए। हाल निर्माण सम्पन्न भएपछि कार्यालयको प्राविधिक टोलीले शुक्रबार बेलिब्रिजको भारवाहन क्षमता परीक्षण गर्दा सफल भएको थियो । बेलिब्रिजले २५ टनसम्म भार थेग्नसक्ने कार्यालय प्रमुख रञ्जितकारले बताए ।

यो सडकलाई रुकुमपश्चिम, जाजरकोट र डोल्पाको लाइफलाइनका रुपमा लिइएको छ । यो करिडोरले भारतको रुपैडियादेखि नेपालगञ्ज हुँदै चीनको सीमाक्षेत्र मोरिम्ला नाका जोड्ने भएकाले यस सडकलाई राष्ट्रिय महत्वको सडकको रुपमा समेत लिइन्छ ।

करिडोरअन्तर्गत तल्लुबगर, नलगाड र खदाङमा पक्की पुल निर्माण सुरु भएको बताइएको छ । अन्य खोलामा ह्युमपाइप राखेर डोल्पासम्म सिधा यातायात सञ्चालन गरिने तयारी भइरहेको छ ।

भेरी करिडोर कार्यालयका अनुसार ११८ किलोमिटर लम्बाइ रहेको जाजरकोट डोल्पा सडकखण्डभित्रको ५६ किमी सडकमा अहिले काम भइरहेको छ । ६२ किमी सडकक्षेत्र फराकिलो बनाउने काम सुरु गरिएको छ । रुपगाड खोलाको बेलिब्रिज निर्माण भएपछि भेरी करिडोरअन्तर्गत पाँचवटा खोलाका पुल बन्नेछन् ।

अझ सानातिना खोलामा गरेर आठवटा खोलामा पुल बन्न बाँकी छ । यो पुल निर्माणपछि १०६ मेगावाट जगदुल्ला जलविद्युत् आयोजना निर्माणमा समेत सहजता हुने विश्वास छ । यस सडकखण्डमा ठेक्का लिने तर काम नगर्ने क्याराभान कन्ट्रक्सनलाई तत्काल काममा फर्कन दबाब दिइएको भेरी करिडोर कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया