
सुर्खेत। रुकुमपश्चिमको जिल्ला सदरमुकाम खलङ्गा बजारमा सञ्चालित तीन वटा पसलमा ताला लगाइएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्ज बाँकेले जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमको समन्वयमा गरेको बजार अनुगमनका क्रममा कैफियत भेटिएपछि तीन वटा पसलमा ताला लगाइएको हो ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीका अनुसार पाउरोटी उद्योग, चाउमिन उद्योग र खाद्यान्न पसल गरी आठ वटा पसलमा अनुगमन गरिएकोमा तीन वटा पसलमा ताला लगाइएको छ । उनले लोकेन्द्र पाउरोटी उद्योग, न्यू समीक्षा हाइजनिक बेकरी उद्योग र न्यू समीक्षा चाउमिन उद्योगमा ताला लगाइएको बताए।
ती उद्योग तथा पसलमा आवश्यक कागजपत्र नभएको, नवीकरण नगरिएको, अनुज्ञापत्र तथा सरसफाइ नभएको अनुगमन समितिको भनाइ छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका कार्यालय निरीक्षण अधिकृत विष्णुप्रसाद धितालले अनुगमन गरिएका आठ वटा पसलमध्ये सात वटालाई जरिबाना गरिएको बताए।
जिल्ला सदरमुकाममा नियमविपरीत सञ्चालन हुँदै आएका तीन वटा निजी मेडिकल बन्द गरिएको छ। सिमकोट गाउँपालिकाले अनुगमनका क्रममा तोकिएको मापदण्ड नपुगेका मेडिकललाई सबै प्रक्रिया पूरा गर्न तीन दिनको समय दिँदा पनि पूरा नगरेपछि बन्द गरिएको हो । प्रक्रिया पूरा गर्न नसकेका सिया मेडिकल हल, सिपी औषधी पसल र बुधे मेडिकल औषधी पसल सञ्चालनमा बन्द गरिएको छ । सिमकोटमा सञ्चालित पाँच वटा निजी मेडिकलको अनुगमन गर्दा तोकिएको मापदण्ड नपुगेपछि अनुगमन समितिको प्रतिवेदनका आधारमा ती मेडिकललाई बन्द गरिएको सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका संयोजक नरबहादुर भण्डारीले बताए।
मेडिकलमा मनपरी औषधी बिक्री गरेको, एक व्यक्तिको लाइसेन्समा अर्को व्यक्तिले मेडिकल खोलेर सञ्चालन गरेको, औषधी र क्लिनिकको अनुमति नलिई सञ्चालनमा आएको भेटिएकाले ती सबै मेडिकलले प्रक्रिया पूरा गर्न नसक्दा गाउँपालिकाले बन्द गरेको हो ।

नेपालीरैबार । २०८१ जेष्ठ ८, मंगलवार