
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया ढकालले ‘मेयरसँग महिला किसान’ कार्यक्रममा सञ्चालनमा ल्याएकी छन् । उक्त कार्यक्रमले महिलालाई उत्पादनमा जोडेर आत्मनिर्भर बनाउने लक्ष्य रहेको छ । सोही उद्देश्य अनुरुप नगरभित्रका महिला किसानहरुलाई मेसिनरी औजार वितरण गरिएको छ ।
विभिन्न ३९ जना महिलाहरुलाई ती औजारहरु वितरण गरिएको हो । मेयर मोहनमाया ढकालका अनुसार २८ जना महिलालाई मिनीटिलर र ११ जनालाई पावरटिलर वितरण गरिएको हो । कृषि नै आर्थिक विकासको महत्वपुर्ण आधार हो भन्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।
विशेषगरी यो कार्यक्रम महिला दिदिबहिनीहरुलाई नै लक्षित गरेर ल्याइएको ढकालले बताइन् । ‘रोजगारी सिर्जना, उत्पादनमा वृद्धिसँगै आर्थिक वृद्धिदरमा सहयोग पुग्ने अपेक्षा गरिएको छ,’उनले भनिन्, ‘वितरण गरिएका औजारहरु पाँच बर्षसम्म अन्त कतै दिन पाइने छैन । पटक–पटक अनुगमन हुने र उपलब्धिको समीक्षा समेत हुन्छ ।’
ढकालले यो परियोजना निकै महत्वकाँक्षी योजना भएको बताइन् । महिलाहरुलाई उत्पादन र रोजगारमा जोडेर आत्मनिर्भर बनाइने उनले बताइन् । महिलामैत्री नगर बनाउनका लागि ‘छोरीको लागि गर्वको नगर, महिलामैत्री नगर’ भन्ने नारा नै राखेर महिला आयआर्जन सम्बन्धि विभिन्न कार्यक्रमहरु ल्याइएको छन् ।
यसअघि नै अटो सञ्चालन, अचार उत्पादन लगायतका कार्यक्रमहरु सञ्चालनमा छन् । ढकालले भनिन्, ‘अहिलेको प्रविधिसँग महिला किसानलाई जोडेर अगाडि बढ्न सजिलो होस् भन्ने हामीले सोचेका छौँ । महिलालाई आत्मनिर्भर बनाई आर्थिक रुपमा सबल र सफल बनाइने छ ।’

नेपालीरैबार । २०८१ जेष्ठ १२, शनिबार