
काठमाडौं। टी–२० विश्वकपअघिको अभ्यास खेलमा नेपालले हाउस्टन हरिकेन्सलाई २७ रनले पराजित गर्न सफल भएको छ । अभ्यास खेलमा नेपालको यो लगातार दोस्रो जित हो ।
शनिबार भएको खेलमा १ सय २४ रनको लक्ष्य पछ्याएको हरिकेन्सले १८।३ ओभरमा सबै विकेट गुमाएर मात्र ९६ रन बनाउन सक्यो । हरिकेन्सका लागि सुभम रन्जानेले २९ बलमा ३५ रन बनाए भने लाहिरु मिलान्थाले १३ बलमा १६ रन बनाए । नेपालका लागि करन केसीले ३ तथा सोमपाल कामीले २ विकेट हात पारे ।
यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय २३ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३६ रन बनाए । उनलाई कुशल भुर्तेलले २३ रन बनाउँदै साथ दिए । हरिकेन्सका लागि जस्टिन डिल र रन्जानेले २–२ विकेट लिए ।
यसअघि प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा शुक्रबार राति सम्पन्न खेलमा नेपालले हुरीकेन्सलाई ६ रनले पराजित गरेको थियो । नेपालले दिएको १४७ रनको लक्ष्य पछ्याएको हुरीकेन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४० रनमा समेटिएको थियो ।

नेपालीरैबार । २०८१ जेष्ठ १३, आईतवार