
सुर्खेत। यार्सागुम्बा टिप्नको लागि डोल्पा गएकी रुकुमपश्चिमको एक युवतीको मृत्यु भएको । आठविसकोट नगरपालिका ४ गोतामकोट विष्ट गाउँ निवासी २२ वर्षीया जमुना विष्टको सोमबार डोल्पाको काईके गाउँपालिकाको लैनीबगरदेखि माथि डाँडामा पुगेको बेला मृत्यु भएको वडा अध्यक्ष नरसिं विष्टले जानकारी दिए ।
वडा अध्यक्ष विष्टका अनुसार यार्सागुम्बा टिप्नको लागि डोल्पाको नाउरे भन्ने स्थानमा पुगेको बेला जमुना लेक लागेर बिरामी भएकी थिइन् । उनको साथमा रहेकी कान्छी बहिनी सरस्वती विष्टसहित घर फर्कँदै गरेको बेला बाटोमै उनको मृत्यु भएको हो ।
वडा अध्यक्ष विष्टले जमुनाको शव जिल्ला अस्पताल डोल्पामा ल्याएर पोस्टमार्टम गरिने र त्यसपछि गोतामकोट ल्याइने तयारी गरिरहेको बताए। जमुनाको घरमा अहिले आमा एक्लै छन् । बुवा र दाइ रोजगारीको सिलसिलामा भारत गएका छन् भने जेठी दिदीको विवाह भइसकेको छ । कान्छी बहिनी र अन्य नातेदारहरूको साथमा यार्सागुम्बा टिप्न डोल्पा गएकी थिइन् ।

नेपालीरैबार । २०८१ जेष्ठ १५, मंगलवार