
सुर्खेत। हुम्लाका सात वटा स्थानीय तहले आर्थिक वर्ष ०८१र०८२ मा एक अर्ब ७७ करोड २१ सङ्घीय सरकारबाट अनुदान पाउने भएका छन् । जिल्लाका सात वटा गाउँपालिकाले वित्तीय सम्मानीकरण अनुदान, सर्सत अनुदान, विशेष अनुदान र समपुरक अनुदान शीर्षकमा सो अनुदान पाउने भएका हुन् ।
सङ्घ सरकारबाट यी चार वटै शीर्षकमा गाउँपालिकाले पाउने अनुदानमा सबैभन्दा बढी सर्केगार्ड गाउँपालिका ३२ करोड १२ लाख बजेट अनुदान पाउने छ भने सबैभन्दा कम अदानचुली गाउँपालिका २० करोड ९१ लाख बजेट पाउनेछ । त्यसैगरी सिमकोट गाउँपालिका ३२ करोड नौ लाख, खार्पुनाथले २५ करोड ८० लाख, नाम्खा गाउँपालिका २२ करोड २३ लाख, चङ्खेली गाउँपालिका २२ करोड १८ लाख र ताँजाकोट गाउँपालिका २१ करोड ८८ लाख बजेट अनुदान पाउने छन् ।
सात वटै गाउँपालिकाले पाएको अनुदान शीर्षक अनुसार सम्मनीकरण अनुदानअन्तर्गत न्यूनतम अनुदानमा १९ करोड ७५ लाख, सुत्रमा आधारित अनुदानमा २९ करोड १० लाख, कार्य सम्पादनमा आधारित अनुदानमा तीन करोड ३९ लाख गरी ५२ करोड २४ लाख रहेको छ ।
त्यसैगरी, सर्शत अनुदानमा चालुमा ९३ करोड ५३ लाख र पुँजीगतमा २४ करोड ६४ लाख गरी एक अर्ब १८ करोड १७ लाख बजेट अनुदान पाउने छन् । त्यस्तै, विशेष अनुदान तर्फ चालुमा ५० लाख र पुँजीगतमा पाँच करोड ३० लाख गरी कुल पाँच करोड ८० लाख प्राप्त गर्नेछन् । यता समपुरक अनुदानका पुँजीगतमा एक करोड अनुदान पाउने छन् ।
सबै शीर्षकबाट पाउने अनुदानमा चालुतर्फ एक अर्ब ४६ करोड २७ लाख र पुँजीगतमा ३० करोड ९४ लाख बजेट रहेको छ । सो कुरा अर्थ मन्त्रालयले अन्तर सरकारी वित्तीय हस्तान्तरणमा राखेको छ । यति बेला जिल्लाका गाउँपालिकाहरु आन्तरिक आम्दानी, ऋण सहयोग लगाएतका स्रोतलाई समेटेर आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारीमा लागेका छन् ।

नेपालीरैबार । २०८१ जेष्ठ २२, मंगलवार