सुर्खेतको वीरेन्द्रनगर पछिल्लोपटक व्यवस्थित सहरीकरण भइरहेको नगरपालिकामा पर्दछ । प्रदेश राजधानी कायम भएसंगै कर्णालीका अन्य जिल्लाबाट बसाइँ सर्नेहरुको प्रमुख रोजाई बनेको छ, वीरेन्द्रनगर । तीव्र जनसंख्या वृद्धिका कारण नगरपालिकालाई सामुदायिक शिक्षा, खानेपानी, विद्युतको सेवा प्रवाहमा जटिलता उत्पन्न भएपनि ती समस्याको दीर्घकालिन समाधानका लागि महत्वपूर्ण आयोजनाहरु अघि बढेका छन् । जसले गर्दा वीरेन्द्रनगरको भविष्य सुन्दर एवं आशालाग्दो छ । नगरपालिकाले भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा, कृषि, वातावरण, पर्यटन र सामाजिक न्यायका क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेको छ । अघिल्लो कार्यकालमा उपप्रमुखको रुपमा अनुभव हासिल गरेकी मोहनमाया ढकाल अहिले नगर प्रमुख छिन् । स्थानीय जनप्रतिनिधिहरुमध्ये निर्भिक, अब्बल र स्वच्छ छविका रुपमा उनको परिचय स्थापित छ । समृद्ध वीरेन्द्रनगरको परिकल्पनालाई साकार पार्न कुशलतापूर्वक नेतृत्व गरेकी ढकालसंग गरिएको कुराकानी –
नगर प्रमुखका रुपमा निर्वाचित भएको दुई वर्ष बित्यो । यस अवधिलाई कसरी मूल्यांकन गर्नुभएको छ ?
वीरेन्द्रनगर नगरपालिकाको पहिलो कार्यकालमा उपप्रमुख भएँ । नेपालको संविधानले दिएका अधिकारहरु प्रयोगका लागि ऐन, नियम बनेको थिएन । हामीले थुपै्र ऐन, नियम, कार्यविधि निर्माण ग¥यौं । स्थानीय तहमा कसरी काम गर्न सकिन्छ भन्ने बुझाई भयो । पहिलो पटक काम गर्दा छुटेका कुराहरु थिए, केही काम अधुरा थिए । राम्रा अभ्यासहरु पनि थिए । ती राम्रा अभ्यासलाई निरन्तरता दिएर स्थापित गर्नुपर्छ भन्ने आत्मविश्वास बढ्यो । दोस्रो चरणमा नगर प्रमुखको उम्मेदवार बन्ने अवस्था बन्यो । अहिले कार्य जिम्मेवारी सम्हालेको दुई वर्ष पुरा भएको छ । कार्यपालिकाको पहिलो बैठकबाट केही महत्वपूर्ण एजेण्डा अघि सारेका थियौं । तीमध्ये कतिपय कार्यान्वयनमा गइसकेका छन् । केही कार्यान्वयन हुन बाँकी छन् । ती काम पनि यही कार्यकालमा पुरा हुनेछन् । कार्यान्वयनको अवस्था, बजेट खर्च, राजस्व संकलन, विभिन्न सूचकांकमा सुधार हुुनुले हामी सफल भएको पुष्टि हुन्छ । यसबाट हौसला मिलेको छ । कतिपय सूचकांकमा सुधार भएपछि हामी पुरस्कृत भएको अवस्था पनि छ । यस हिसाबले कार्यकाल निकै सफल भएको ठानेकी छु ।
अहिले नगरपालिकाले हासिल गरेका मुख्य उपलब्धीहरु के के हुन् ?
वीरेन्द्रनगर गुरुयोजना निर्माण भइसकेको नगरपालिका हो । यसर्थ हामीले नयाँ गुरुयोजना बनाउनुपरेन । पुरानै गुरुयोजना अनुसार हामीले व्यवस्थित विकासको योजना अघि सारेका छौं । जस्तो थुपै्र सार्वजनिक जग्गाहरु निश्चित प्रयोजनका लागि राखिएको थियो । धेरै सार्वजनिक जग्गाहरु अन्य प्रयोजनमा प्रयोग भइसकेको पाएपछि हामीले सार्वजनिक जग्गा संरक्षणको नीति अनुसार, वडा नं ६, ७ र ८ मा सार्वजनिक जग्गाको खोजी, ती जग्गा प्रयोगको अवस्था अध्ययन ग¥यौं । र तिनलाई नगर विकासको हितमा प्रयोग गरी नीति अवलम्बन ग¥यौं । ती जग्गामा खुला पार्क, फुटपाथ, पार्किङको विकास गर्ने गरी अध्ययन भइसकेको छ । आागामी आर्थिक वर्षमा यो कामले पूर्णता पाउनेछ ।
दीर्घकालिन महत्व राख्ने भेरी पम्पिङ योजनाको प्रक्रिया शुरु भइसकेको छ । सेफ्टी ट्यांकीको फोहोर व्यवस्थापन, बायोग्यास सञ्चालनमा ल्याउने गरी सरसफाइको क्षेत्रमा उपलब्धी हासिल भएको छ । अहिले हामीले सुकुम्बासी समस्या समाधानका लागि नापजाँच अघि बढाएका थियौं । आयोग विघटन भएपछि त्यो काम रोकिएको छ । अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्ने, बाटोहरु च्यापेर घरहरु निर्माण गर्ने, नगरपालिकामा वर्षौदेखि निर्माण हुन नसकेका बाटोहरु, मुख्य बजार क्षेत्रका सडकहरुको साइड क्लिएर गर्ने काम ग¥यौं,सडकमा देखिएका अवरोधहरु हटाउन सफल भयौं । उदाहरणका लागि दैलेख रोड, लाटीकोइली रोड, मुख्य बजार क्षेत्रका साइट क्लिएर हुन नसकेर रोकिएका थिए । ती अवरोधहरु हटे ।
नगरपालिकाको १० वर्षे शैक्षिक रणनीति अनुरुप स्थानीय पाठ्यक्रम निर्माण अध्यापनको काम अघि बढाइएको छ । अर्को महत्वपूर्ण नगर अस्पताल थप सुविधासम्पन्न बनाइएको छ । त्यसलाई आमा र बालबालिकाको लागि विशिष्टिकृत सेवा प्रदान गर्ने स्तरको बनाउँदैछौं । पर्यटकीय क्षेत्रमा महत्वपूर्ण कामहरु अघि बढाएका छौं । बुलबुले ताल विस्तार, मोटरबोट सञ्चालन, घण्टाघर पार्क व्यवस्थापनको काम भएको छ । सामाजिक न्यायको क्षेत्रमा सुरक्षित आवास गृह, हिंसा प्रभावित महिलाका लागि सेफ हाउस, रोजगार र स्वरोजगारका योजनाहरु अघि बढेको छ । महिलाहरुलाई आत्मनिर्भर बनाउन महिला किसान कार्यक्रम सञ्चालनमा छ । राज्यले लिएको समावेशी नीतिलाई कार्यान्वयन गर्न, महिलारुहलाई आर्थिक रुपले सशक्त बनाउनुपर्छ भन्ने उद्देश्यका साथ महिला किसान कार्यक्रम लागू गरेर उत्पादनको क्षेत्रमा लगानी गरेका छौं । जियो कृषि अर्थात किसानहरुलाई डिजिटल प्रविधिममा जोड्ने कार्यक्रम लागू गरेका छौं । प्रविधिसंग ३५ सय किसानहरु जोडिनुभएको छ । विभिन्न युवा लक्षित विभिन्न कार्यक्रम सञ्चालनमा छन् । सडक पशु चौपायामुक्त गर्न गौशाला निर्माण र सञ्चालन, सडक मानवमुक्त अभियानका लागि मानव सेवा आश्रम, महिला स्वास्थ्य तथा मातृ शिशु कल्याणका कार्यक्रमहरु सुत्केरीलाई निशुल्क एम्बुलेन्स, गर्भवतीलाई भिडियो एक्सरे, निशुल्क सेनेटरी प्याडजस्ता सञ्चालन भएका छन् ।
वीरेन्द्रनगरमा प्रदेशस्तरीय रोजगार मेला पनि सुरु भएकाे छ, यो कस्तो मेला हो ?
नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा यही २५ र २६ गते अाजबाट श्रम मेलाको आयोजना भएकाे छ । त्यसको व्यवस्थापन हामीले गरिरहेका छौं । वीरेन्द्रनगरमा रहेको बेरोजगार जनशक्तिको अवस्था र तिनलाई कस्तो प्रकारको रोजगारीमा जोड्ने भन्ने विषयमा छलफल हुनेछ । केही अगाडि वीरेन्द्रनगरका केही वडाबाट वैदेशिक रोजगारका लागि भाषा कक्षा सञ्चालन गर्ने सूचनाहरु सार्वजनिक भएका थिए । ती कार्यक्रमलाई हामीले अहिले रोक्न भनेका छौं । स्थानीय सरकारले स्थानीयस्तरमै रोजगारीका कार्यक्रम सञ्चालन गर्ने हो, स्थानीयस्तरमा रोजगारी प्रोत्साहन गर्ने हो । वैदेशिक रोजगारीलाई प्राथमिकता दिने होइन । त्यस्तै वीरेन्द्रनगरमा जनसंख्या वृद्धि तीव्र छ । यसलाई उत्पादनमा उपयोग गर्नुपर्छ भन्ने नीति लिएका छौं । जस्तो, महिलाहरुलाई ड्राइभिङ, सिलाई बुनाई, डेरी, मसाल उद्योगजस्ता उद्यमशिलतामा जोडिएको छ । यसले नगरपालिकामा राम्रो प्रभाव परेको छ ।
नगरबासीले लामो समयदेखि विद्युतको समस्या भोग्नुपरेको छ । यसको समाधानमा नगरपालिकाले कसरी सहकार्य गरिरहेको छ ?
विद्युतका कार्यक्रमहरु नेपाल विद्युत प्राधिकरणमार्फत नै अघि बढेका छन् । अहिले कोहलपुर सुर्खेत १३२ केभी प्रशारण लाइन निर्माण चरणमा छ । यसमा कतिपय हाम्रो नगर क्षेत्रमा अवरोधका विषय थिए । सल्टाएका छौं । अन्य नगर भित्रका सार्वजनिक पोलसम्बन्धी विवादहरुमा पनि वडाध्यक्षसहित हामी आफै फिल्डमा पुगेर समाधानको प्रयत्न गरेका छौं । विद्युतको समस्यामा हरेक पाटोबाट सहजीकरण गरिरहेका छौं ।
भेरी पम्पिङ नगर गौरवकै आयोजना हो, यसमा के प्रगति भइरहेको छ ?
वीरेन्द्रनगर नगरपालिकाको जनगणना अुसार १ लाख ५४ हजार छ । घरमा भइरहेको जनसंख्या हेर्दा साढे ४ देखि ५ लाखसम्म पुगेको अनुमान छ । विद्यालयमा एक तिहाइ स्थानीयबासी र दुई तिहाइ विभिन्न जिल्लाबाट यहाँ आएर अध्ययन हुनुहुन्छ । यस्तो अवस्थामा खानेपानी, सरसफाइको च्यालेन्ज पनि छ । यसका लागि अहिलेको उपत्यका खानेपानीको मूल सुधारदेखि चुहावट नियन्त्रणको काम गरेर सहज बनाउने काम भइरहेको छ । दीर्घकालिन प्रकृतिको भेरी पम्पिङ खानेपानी आयोजना ९जो भेरी नदीबाट लिफ्ट गरेर पहिलो चरणमा अहिलेकै संरचनामा ल्याएर वितरण गरिनेछ । परियोजनाले तीन वर्ष खानेपानीको समस्या समाधान गर्ने योजना छ । निर्धारित समयमै सम्पन्न गर्ने गरी ठेक्का छनौटका कामहरु अघि बढिसकेको अवस्था छ ।
असार १ गते प्रदेशको बजेट आउँदैछ, यो प्रदेश राजधानी पनि हो, प्रदेशको बजेटसंग तपाईँहरुको अपेक्षा के हो ?
विशेषगरी प्रदेश सरकारसंग हामीले दीर्घकालिन महत्वका योजना अघि सारेका छौं । गुरुयोजना अनुसार अधुरा सडक निर्माण, चक्रपथ निर्माण, उपत्यका ढल निकास योजना, दिगो सरसफाइका लागि ल्याण्ड फिल्ड साइड निर्माण, वडा नं १२, १४, १५ र १६ जाने सडक, कृषि पर्यटकीय क्षेत्रमा लगानी, बुलबुले उद्यान व्यवस्थापन, मुख्य चोकहरुमा आकाशे पुल निर्माण योजना छन् । अहिलेको बसपार्क निकै साँघुरो छ । मदन भण्डारी राजमार्ग बनेपछि कर्णालीका सबै जिल्लाबाट सुर्खेतमा यातायात सम्बन्ध विस्तार भएपछि अहिलेको सिटी बसपार्कले थेग्न सक्दैन । त्यसैले वडा नं १ मा प्रादेशिक बसपार्कको अध्ययन भइसकेको छ । सार्वजनिक जग्गा उपयोग गरी बृहत सपिङ कम्पलेक्स निर्माणको काम अघि बढाउनुपर्नेछ । हामीले जति सार्वजनिक जग्गा खाली ग¥यौं । ती जग्गामा व्यवस्थित पार्किङ, फुटपाथ, हरियाली क्षेत्र, खुला पार्क निर्माण गर्नुपर्नेछ त्यसको लागि पर्याप्त बजेटको आवश्यकता छ । सुर्खेत विमानस्थल विस्तार तथा स्तरोन्नतिमा बजेट विनियोजन भई प्रक्रिया अघि बढ्ने अपेक्षा पनि गरेका छौं ।
वीरेन्द्रनगरलाई उपमहानगरपालिका बनाउने योजना कहाँ पुग्यो ?
चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि हामीले यो विषयलाई प्रवेश गराएका थियौं । अहिले हामीले उपमहानगरपलिका बन्नलाई मुख्य दुइटा इन्डिकेटर पुरा गरेको अवस्था छ । यहाँ जनसंख्या पनि पर्याप्त छ । राजस्व संकलनका दृष्टिले सही बिन्दुमा छौं । वार्षिक २७ करोड चाहिनेमा यस वर्ष ४१ करोडको प्रक्षेपण गरिएको छ । झन यो वर्षलाई राजस्व सुधारको वर्षका रुपमा लिएका छौं । त्यस हिसाबले संघ र प्रदेश सरकारले सकारात्मक सहयोग गरेको खण्डमा उपमहानगर घोषणाका लागि सबै मापदण्ड पुरा भइसकेको अवस्था छ ।
वीरेन्द्रनगर हरित सहर कहिले बन्छ ?
सन् २०३० सम्म वातावरणीय सहर, बसोबास योग्य सहर घोषणा गर्ने लक्ष्य छ । त्यसका लागि एक घर दुई विरुवा, हामी कुरुवा अभियान निरन्तर चलिरहेको छ । जति बाटाहरु खोलिएको छ, रुख लगाउने प्रक्रिया शुरु भइसकेको छ । सडकको साइज र सडकको विरुवाहरु कुन प्रकृतिको हुनुपर्छ भनेर अध्ययन पनि भइरहेको छ । यही सिजनमै १० हजार बढी विरुवा रोड साइडमा लगाउँदैछौं । यद्यपि क्रंक्रिटका कारण केही विरुवा हुर्किन सकेको छैनन् । त्यसलाई सुधार गर्दैछौं । सडकको साइज एकिन गरेर वृक्षारोपणको काम अघि बढाउँदैछौं ।
वीरेन्द्रनगरमा दातृ निकायको लगानी थुप्रै छ, परिचालन कसरी गर्नुभएको छ ?
हाम्रो आवश्यकतामा उहाँहरुलाई ल्याउने प्रयास भएको छ । जस्तो कृषि उपज उत्पादन, बजारीकरण, विपद् व्यवथापन, पूर्वाधार निर्माण, दिगो सरसफाइ, समावेशी सहर निर्माण, सार्वजनिक स्थलहरु सबै नागरिकल उपयोग गर्न सक्ने खालको गराउन त्यस्ता स्रोतहरुको परिचालन गरेको अवस्था छ । सामाजिक न्यायको क्षेत्रमा कामहरु भइरहेको छ ।
नगरपालिकाले सामुदायिक शिक्षालाई प्रोत्साहन गर्न सकेन भन्ने गुनासो छ नि ?
नेपालमा शिक्षा तीन तहको संरचनामा छ । संघीय ऐन नबन्दा हामीलाई काम गर्न गाह्रो भएको छ । त्यस हिसाबले हामीले कतिसम्म लगानी गर्ने भन्ने निश्चित भएन । स्थानीय तहले परिभाषित आफ्नो अधिकार क्षेत्र भएको काम चाहिँ गरेको अवस्था छ । पहाडी जिल्लामा अहिले पनि शिक्षक हुने विद्यार्थी नहुने । अनि तराई वा सहरीकरण भएका पालिकामा विद्यार्थी धेरै शिक्षक कमको समस्या छ । संघीय ऐन नबन्दा स्थानीय तहले आफै ऐन बनाउन नसकेको अवस्था छ । अल्पकालिन रुपमा शिक्षक व्यवस्थापन जस्ता काम गर्न खोज्दा ंसंघीय शिक्षा ऐन बाधक बनिदिन्छ । केही काम गर्न असजिलो भएको छ । हामीले सामुदायिक शिक्षामा प्रोत्साहन नगरेको पटक्कै होइन ।
अहिले सबै क्षेत्र प्रविधिमैत्री बन्दै गएका छन्, वीरेन्द्रनगरले यो क्षेत्रलाई कसरी अवलम्बन गरेको छ ?
वीरेन्द्रनगरलाई प्रविधिमैत्री बनाउने विभिन्न साझेदारहरुसंग सहकार्य गरिरहेका छौं । आजभन्दा एक वर्ष अगाडि किसानलाई प्रविधिसंग जोड्दा कति किसानले अपनत्व गर्नुहोला भन्ने लागेको थियो । करिब ३५ सय किसान यसमा जोडिएका छन् । आटीमार्फत अनुगमनको कामहरु भइरहेका छन् । फ्रि वाइफाइ जोनको विकास गर्दैछौं ।
कांक्रेविहारमा चिडियाखाना स्थापनाको योजना किन अघि बढेन ?
त्यहाँ केही जनावर छ्न । घेरबार नहुँदा चिडियाखानाको रुपमा विकास गर्न समस्या भयो । अहिले घेरबारको योजना पनि अघि बढ्दैछ । विवाद समाधान भएको अवस्था छ । वाल कम्पाउन्ड लगाउने काम शुरु भएपछि त्यहाँभित्र सानो ठाउँ छनौट गरेर अगाडि बढाउने सोचमा छौं ।
नेपालीरैबार । २०८१ जेष्ठ २५, शुक्रबार