सदरमुकाम सिमकोट बजारमा सिसि क्यामरा जडान

सुर्खेत। हुम्लाको सदरमुकाम सिमकोट बजारमा सिसिटिभी क्यामरा जडान गरिएको छ । चोरी तथा अन्य आपराधिक घटना नियन्त्रणमा सहजता ल्याउनका लागि सिमकोट गाउँपालिका र जिल्ला प्रहरी कार्यालय हुम्लाको सहकार्य र समन्वयमा क्यामरा जडान गरिएको हो।

लामो प्रयासपछि सिमकोट बजार क्षेत्रमा सिसिटिभी क्यामरा जडान गर्ने कार्य सफल भएको प्रहरी नायब उपरीक्षक रबिन्द्र खनालले बताए।

उपरीक्षक रबिन्द्र खनालका अनुसार बजार क्षेत्रमा चोरीको घटना नियन्त्रण गर्न, अन्य आपराधिक घटना हुन नदिन आवश्यक रहेको अवस्थामा सिसिटिभी क्यामरा सहयोगी बन्ने छ ।

यसअघि बजार क्षेत्रमा सिसिटिभी क्यामरा जडान नगरिएका कारण बजारमा हुने आपराधिक घटना प्रहरीलाई पत्ता लगाउन कठिन भइरहेको बेला सिमकोट गाउँपालिकाको सहयोगमा सिसिटिभी क्यामरा जडान कार्य भएको हो ।

बजार क्षेत्रमा जडान गरिएको क्यामराले सुरक्षाकर्मीहरूलाई सुरक्षा प्रदान गर्न सहज हुने विश्वास उनको छ । हाललाई काली चोकदेखि एयरपोर्ट चोकसम्म पाँच वटा सिसिटिभी क्यामरा जडान गरेर सुरक्षा प्रदान गर्ने कार्य भइरहेको छ ।

यी क्यामराले कैद गरेको फुटेज जिल्ला प्रशासन कार्यालयमा रहेको सुरक्षा पोष्टले हेर्न सुरु गरेको छ । सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले सिमकोट बजार क्षेत्रको सुरक्षा संवेदनशीलतालाई नै ध्यानमा राखेर सिसिटिभी क्यामरा जडानको व्यवस्थाका लागि गाउँपालिका लागेको बताए ।
क्यामरा जडान नहुँदा चोरी लगायत अन्य आपराधिक घटनाहरू पत्ता लगाउन कठिन हुन थालेपछि गाउँपालिकाले सिसिटिभी क्यामरा खरिद गरेर जडान कार्य गर्न सहयोग गरेको उनले बताए।

तपाईको प्रतिक्रिया