यी हुन् कपाललाई बलियो बनाउने खानेकुराहरु

काठमाडौं । खानपिनमा जोड गरे कपाल झर्ने समस्याको केही समाधान हुन सक्छ । पौष्टिक तत्त्वसहितको सन्तुलित भोजनको सेवनले कपाल झर्ने समस्यालाई कम गर्न सकिन्छ । केही त्यस्ता खाद्यपदार्थ छन् जसलाई यदि आफ्नो भोजनमा सामेल गराएमा कपाल झर्ने समस्या कम हुनेछ ?

अण्डा: बायोटिन तथा अन्य भिटामिन लगायतका पौष्टिक तत्त्वले युक्त अण्डा कपालको विकास तथा स्वास्थ्यका लागि समेत महत्त्वपूर्ण छ । अण्डा खानुका साथसाथै ताडको तेलमा मिलाएर कपालमा लगाउँदा समेत कपाल झर्ने समस्या कम हुन्छ ।

पालुङ्गोको साग: पालुङ्गोलाई आइरन तथा फोलेट तत्त्वको भरपर्दो श्रोत मानिन्छ । कपाललाई लामो तथा स्वस्थ बनाउनका लागि पालुङ्गोको साग नियमित खानु लाभदायी हुन्छ । फोलेट तत्त्वले राता रक्तकोषको निर्माणमा मद्दत गर्छ जसले कपालमा अक्सिजन सञ्चार गर्दछ ।

मुसुरोको दाल: मुसुरोको दालका साथै सोयाबिन, टोफु तथा सिमी र केराउलाई नियमित रूपमा भोजनमा समावेश गर्नाले शरीरमा आइरन तथा प्रोटिनको पर्याप्त आपूर्ति हुने र यसले कपाललाई स्वस्थ राख्न मद्दत गर्ने विज्ञहरूको भनाइ छ ।

सखरखण्ड: सखरखण्डमा पाइने भिटामिनहरू तथा बिटा क्यारोटिन कपाललाई स्वस्थ राख्न अनिवार्य हुने तत्त्व हुन् । बिटा क्यारोटिनका अन्य श्रोतहरुमा गाजर तथा फर्सी पनि हुन् ।

क्याप्सिकम: क्याप्सिकम भिटामिन ‘सी’को भरपर्दो श्रोत हो । कपाललाई स्वस्थ राख्न तथा राता रक्तकोषमा आइरनको मात्रा पर्याप्त राख्न भिटामिन सी आवश्यक पर्छ । त्यसैले क्याप्सिकमको नियमित सेवनले पनि कपाललाई स्वस्थ राखी झर्नबाट बचाउँछ ।

तपाईको प्रतिक्रिया