न्यायिक समितिको काम, कर्तव्य बुझाउदै गुराँस गाउँपालिका

दैलेख । गुराँस गाँउपालिकाले न्यायिक समितिकोे काम,कर्तव्य,अधिकारको बारेमा जानकारी दिँदै वडा स्तरमा छलफल गरेको छ । बुधबार गुराँस गाँउपालिका वडा नं ४ को आयोजनामा कानूनी सचेतना सम्बन्धी एक कार्यक्रम मार्फत न्यायिक समितिको बारेमा जानकारी दिएकोे हो ।

कार्यक्रममा न्यायिक समितिका संयोजक गुराँस गाउँपालिका उपाध्यक्ष शिव कुमारी खड्काले उजुरीहरू, विवादका किसिम र न्यायिक समितिका अधिकारक्षेत्रको विषयमा समुदाय स्तरमा जानकारी गराएकी थिइन् । गुराँस गाँउपालिकाका अध्यक्ष टोप बहादुर बिसीले जनतालाई कानूनी सचेतना मार्फत न्यायमा पहुँच पुग्ने विश्वास व्यक्त गरे ।

महिलामाथि हुने हिंसा, सामाजिक भेदभाव, जातीय विभेद, बाल विवाह विरूद्वको कानूनी ब्यवस्था, घरेलुहिँसा र स्थानीय तहमा आउने सानातिना विवादहरूको विषयमा दोहोरो छलफल गनुका साथै, कार्यक्रममा स्थानीय तह वडा कार्यालय, गाँउपालिकाबाट दिइने सेवा प्रवाहको विषयमा पनि जानकारी गराइएको थियो ।

गुराँस गाँउपालिकाका कानूनी सहजकर्ता याम कुमारी विकले कायक्रमको सहजीकरण गदै गुराँसका सबै वडा वस्ति स्तरमा समेत यस्ता छलफल गरिने जानकारी दिइन्।

यस प्रकारको कार्यक्रम अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष लगायत सम्पूर्ण टोली समुदायको विचमा आएर छलफल चलाइ कानूनी विषयमा जानकारी दिनु अत्यन्त महत्वपूर्ण काम भएको र यसले जनप्रतिनिधि र स्थानीय सरकार प्रति जनताको भरोसा र अपनत्व बढाउने काम भएको कुरा कार्यक्रममा सहभागिहरूले बताएका थिए ।

तपाईको प्रतिक्रिया