कर्णालीका प्रदेश प्रमुखको सचिवालयमा, १२ जनालाई नियुक्ति, अधिकांश आफ्नै परिवारका सदस्य

कार्यालयमा हाजिर नभइ खान्छन् तलब

सुर्खेत । कर्णाली प्रदेश प्रमुख तिलक परियारले आफ्नो सचिवालयमा १२ जनालाई नियुक्ति दिएकोमा अधिकांश आफ्नै परिवारका सदस्य रहेको खुलेको छ । ०७८ कार्तिकमा कर्णालीको प्रदेश प्रमुख नियुक्त भएका परियारले आफ्नो सचिवालयमा तीन छोरा, एक बुहारी, तीन नाति, एक भतिज र एक भान्जालाई नियुक्ति दिएका हुन् ।

बाँकेको कोहलपुर नगरपालिका–१२, निबुवा निवासी परियारले दुई जनालाई भने माओवादी केन्द्रको सिफारिस अनुसार नियुक्ति दिएका छन् । परियारको प्रमुख स्वकीय सचिवमा वीरेन्द्रनगर नगरपालिका–३ का दानसिंह सुनार छन् भने वीरेन्द्रनगर नगरपालिका–१०, का टेकेन्द्र विश्वकर्मा फोटोग्राफर अधिकृत छन् । उनीहरू दुवै जना माओवादी कर्णाली प्रदेश कमिटीले पठाएका व्यक्ति हुन् । सुनार सुर्खेत जिल्ला पार्टीमा क्रियाशील छन् भने विश्वकर्मा माओवादी निकट प्रेस सेन्टरको सुर्खेत जिल्ला अध्यक्ष हुन् ।

तीबाहेक एक जना गण्डकी प्रदेशको स्याङ्जा निवासी छन् भने बाँकी ९ जना लुम्बिनी प्रदेशको बाँके र दाङ जिल्लाका छन् । सहस्वकीय सचिव रहेका पदमबहादुर विक कालीगण्डकी–४, स्याङ्जाका हुन् । प्रदेश प्रमुखको व्यक्तिगत नियुक्तिबाट आएका उनी प्रायः काठमाडौँमै बस्छन् ।

प्रदेश प्रमुख परियारका तीन छोरामध्ये जेठो छोरा दिपककुमार परियार कम्प्युटर सहायक, माइला छोरा जंगवीर परियार सवारी चालकका रूपमा नियुक्त भएका हुन् । यस्तै कान्छो छोरा उत्तम परियारले चौथो श्रेणीको स्वकीय अधिकृतको पारिश्रमिक बुझ्छन् । उत्तमकी श्रीमती सुनिता छिनाल सचिवालयमा तेस्रो श्रेणीमा छिन् ।

प्रदेश प्रमुखको कार्यालयले हामिलाई उपलब्ध गराएको विवरण अनुसार उपस्वकीय सचिव रहेकी उनको ठेगान त्रिपुर–९ दाङ उल्लेख छ । कोहलपुर नगरपालिका–१२ कै पुनित रोहिला लेखा सहायक छन्, जो परियारका नाति हुन् । परियारकी जेठी छोरीका छोरा प्रकाश विक प्रशासन सहायक छन् । उनकी जेठी र माइली छोरीको विवाह निबुवा गाउँमै भएको छ । प्रकाश सधैँ बाजेसँगै रहन्छन् । परियार साविक प्रदेश २ को प्रदेश प्रमुख हुँदा पनि नाति प्रकाश सचिवालयमै थिए ।

यस्तै अर्का नाति, प्रदिप परियार (माइली छोरीका छोरा) कार्यालय सहयोगीका रूपमा छन् भने बाँके राप्तीसोनारी–६, का विक्की परियार पनि सवारी चालक छन् । जो प्रदेश प्रमुख परियारकी बहिनीका छोरा अर्थात् भाञ्जा हुन् । राप्तीसोनारी–९, का हरिबहादुर परियार पनि कार्यालय सहयोगी छन् । उनी तिलककै भाइको छोरा हुन् ।

कार्यालयमा हाजिर नभइ खान्छन् तलब

प्रदेश प्रमुखको कार्यालयले उपलब्ध गराएको पारिश्रमिक विवरण अनुसार सचिवालयमा रहेका १२ जनाको पारिश्रमिकमा मात्रै मासिक चार लाख ४५ हजार ४०९ रुपैयाँ सकिन्छ । उनीहरूले पाउने अन्य सेवा, सुविधा पनि छन् ।

तर, परियारका तीन छोरा र सहस्वकीय सचिव रहेका पदमबहादुर विक प्रायः कार्यालयमा हाजिर हुँदैनन् । उनीहरू बाहिरै बसेर तलबभत्ता खाइरहेका हुन्छन् ।

पदमबहादुरले नियुक्ति पनि उतै (काठमाडौँ) मै बुझेका हुन् । उनी सुर्खेतमा अहिलेसम्म खासै नआएको बताइन्छ । परियारका छोराहरू कोहलपुरमै व्यवसायमा व्यस्त छन् । हाम्रो सम्पर्कमा रहेका निबुवाका एक स्थानीय माओवादी कार्यकर्ताका अनुसार उनीहरू उनीहरू कोहलपुरमै बसेर कर्णाली प्रदेश प्रमुखको सचिवालय सदस्यका रूपमा तलब बुझ्छन् ।

कान्छो छोरा उत्तम परियारको त्रिचन्द्रा राइस मिल र रोल्पाली स्टोर गरी दुई वटा व्यवसाय छन् भने माइलो छोरा जंगवीरको ट्याक्टर व्यवसाय छ । जेठा दिपककुमार परियार भने घरमै व्यस्त हुन्छन् ।

‘उनीहरू कहिलेकतै बा–आमालाई भेट्न बाहेक अरु बाँकी समय घरमा देखिन्छन्, आफ्नो व्यवसायमा व्यस्त छन्,’ उनले भने, ‘व्यवसायमा लागेर सरकारी तलब–सुविधा खाने यो त गलत कुरा हो र बेथिति हो । माओवादीहरू यस्तो भएको देख्दा अचम्म लागेको छ ।’

प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीले पनि यो कुरा स्वीकार गरे । ‘कर्मचारी नियुक्त गर्ने अधिकार प्रदेश प्रमुखको हो, हाम्रोभित्र केही पर्दैन,’ उनले भने, ‘उहाँले नियुक्त गरेर पठाएपछि तलबभत्ता भुक्तानी गर्ने काम हाम्रो हो । प्रदेश प्रमुखलाई दिने सेवा सुविधा सर्तमा १२ जना राख्न मिल्ने भन्ने छ ।’

बुहारीलाई नियुक्त गर्न निकालिएको थियो जनयुद्धका घाइते परिवारका सदस्यलाई पार्टीमा लागेको दलित समुदायकै एक महिलालाई नियुक्त गर्ने भनेर त्यहाँ कार्यरत निरज सिंहलाई प्रदेश प्रमुख परियारले निकालेका थिए ।

माओवादी बाँके कमिटीको सिफारिसमा निरज सिंह उप–स्वकीय सचिवमा नियुक्त भएका थिए । सिंहलाई ०८० असोजतिर त्यहाँबाट निकालियो । सुरुमा पार्टीमा सक्रिय एक दलित समुदायका महिलालाई नियुक्त गर्न पार्टीले भनेको छ भनेर परियारले सिंहलाई जिम्मेवारी छाड्न भनेका थिए । सिंहले उक्त कुरा बाँके पार्टी कमिटीलाई रिपोर्ट गरे ।

बाँके पार्टी कमिटीले नछाड्न भन्यो तर, पछि परियारले सिंहको कार्यशैलीमाथि प्रश्न उठाएर छाड्न बाध्य पारेको स्रोत बताउँछ । सिंह पनि जनयुद्धमा घाइते परिवारबाट थिए । उनका बुबा जनयुद्धका घाइते हुन् । जनयुद्धको घाइते कोटाबाट उनलाई त्यहाँ पठाइएको हो । पछि पार्टीको नेता नभइ कान्छी बुहारी सुनिता छिनाललाई त्यहाँ नियुक्त दिलाइयो ।

तपाईको प्रतिक्रिया