माओवादीका मन्त्रीहरुले दिए राजीनामा

कांग्रेसभित्र कर्णाली सरकारमा कसको नेतृत्वमा जाने भन्ने विषय पेचिलो बन्यो

सुर्खेत । नेकपा (माओवादी केन्द्र)बाट कर्णाली प्रदेश सरकारमा सहभागी मन्त्रीहरुले सोमबार राजीनामा दिएका छन् । उनीहरुले पत्रकार सम्मेलनमार्फत राजीनामा दिएको घोषणा गरी राजीनामा पत्र मुख्यमन्त्री यामलाल कँडेललाई बुझाए । २७ चैत ०८० मा माओवादीको समर्थनमा नेकपा एमाले संसदीय दलका नेता कँडेल मुख्यमन्त्री बनेका थिए । कँडेल नेतृत्वको सरकारमा माओवादीको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा महेन्द्र केसी, सामाजिक विकास मन्त्रालयमा वीरबहादुर शाही, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा दुर्गबहादुर रावत र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा रणसिंह परियार नियुक्त भएका थिए ।

उनीहरु वैशाख १८ गते मन्त्री बनेका थिए । केन्द्रमा पुनः गठबन्धन बदलिएपछि माओवादी सरकारबाट बाहिरीन पुगेको हो । नेपाली कांग्रेस–एमालेबिच सत्ता समीकरण बनेपछि त्यसको प्रभाव प्रदेशमा पनि पर्छ नै । सोही अनुसार कर्णाली सरकारमा रहेका माओवादी मन्त्रीहरुले राजीनामा दिएर नयाँ गठबन्धनलाई सहजता प्रदान गरे ।

समर्थन पनि फिर्ता

राजीनामासँगै माओवादीले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । माओवादी प्रदेश संसदीय दलका नेता राजकुमार शर्माले प्रदेश प्रमुख तिलक परियारलाई समर्थन फिर्ता लिएको जानकारी गराएका छन् । कर्णालीमा माओवादीका १३ जना प्रदेश सभा सदस्यहरु रहेका छन् ।

अब कांग्रेसको ‘इन्ट्रि’ कहिले ?

माओवादीले समर्थन फिर्ता लिएसँगै एमाले–कांग्रेसलाई औपचारिक रुपमा नयाँ गठबन्धनको सरकार बनाउन बाटो खुला गरेको छ । विवरणहरु अनुसार मुख्यमन्त्रीमा यामलाल कँडेलले नै निरन्तरता पाउने देखिएको छ । यसअघि माओवादीले सम्हालेका मन्त्रालयहरुमा कांग्रेसको सहभागीना रहने देखिन्छ । यद्यपि सरकारमा सहभागीताबारे कांग्रेसभित्र छलफल हुन बाँकी रहेको कांग्रेसका प्रदेश सभा सदस्य बेदराज सिंहले बताए ।

‘यसअघि माओवादीले नै सम्हालेको ठाउँमा चित्त बुझाउने कि, त्यस बाहेक अरु विषयमा पनि छलफल चलाउने भन्ने विषयबारे दलभित्र छलफल भएको छैन,’उनले भने, ‘माओवादीले समर्थन फिर्ता लिएपछि अब औपचारिक रुपमा दुई दलहरुबिच केही छलफल होला ।’

अहिले कानुन मन्त्रालय खाली राखिएको छ भने भौतिक पुर्वाधार राज्यमन्त्री बनाइएको छ । नेपाली कांग्रेसले उक्त मन्त्रालय खाली नराख्ने कुरा गरिरहेको छ । यो विषय दुई दलको छलफलका क्रममा पनि राखिने सिंहले बताए । अहिलेसम्म दुई दलबिच भने सरकारको विषयमा खासै छलफल भएको देखिन्न । कांग्रेसका अधिकांश प्रदेश सभा सदस्यहरु मन्त्री पद माग्न काठमाडौँमा छन् ।

एमाले संसदीय दलका प्रमुख सचेतक टेकराज पछाईंले अबको एक हप्ताभित्र कांग्रेसले सरकारका सहभागीता जनाइसक्ने बताए । ‘अब धेरै समय लाग्दैन, उहाँहरु सायद धेरैजना बाहिर हुनुहुन्छ, आएपछि छलफल हुन्छ, एक हप्ताभित्र उहाँहरु सरकारमा जानुहुन्छ,’उनले भने, ‘मोडालिटीको विषयमा छलफल होला ।’

कसको नेतृत्वमा सरकारमा जाने, कांग्रेसभित्र रस्साकस्सी

कर्णालीमा कांग्रेस संसदीय दल यतिबेला दल नेताविहीन अवस्थामा छ । दल नेता जीवनबहादुर शाही निलम्बनमा परेपछि कांग्रेस दल नेताविहीन भएको हो । दल नेता नै नहुँदा मन्त्री पद माग्नका लागि कांग्रेसका अधिकांश प्रदेश सदस्य काठमाडौँ पुगेका छन् ।

तीन जना बाहेक सबै सदस्य काठमाडौँ छन् । उनीहरूले काठमाडौँमा नेताहरूलाई भेटघाट गर्ने, मन्त्रीलाई बधाई दिनुका साथै आफ्ना लागि मन्त्री पद मागिरहेका छन् । कर्णाली कांग्रेस संसदीय दल नेताविहीन हुँदा आफूहरू काठमाडौँ जानु परेको सदस्यहरूले बताएका छन् । कांग्रेसको तर्फबाट प्रमुख सचेतक हिक्मतबहादुर विष्टले प्रतिनिधित्व गर्दै आएका छन् ।

उनीपछि साउन महिना लाग्नु अगावै काठमाडौँ हानिएका थिए । अझै उनी फर्किएका छैनन । कांग्रेसभित्र अहिले दुई वटा विषय छन्, एउटा मन्त्री छनोट र अर्को कसको नेतृत्वमा सरकारमा जाने । यसअघि संसदीय दलको नेताको लागि अग्रसर भएका केन्द्रीय सदस्यसमेत रहेका राजीव विक्रम शाहले आफ्नो नेतृत्वमा सरकारमा सहभागी हुन ‘लबिङ’ गरिरहेका छन् । उनी लामो समयदेखि काठमाडौँमा नै बसेर छलफल चलाइरहेका छन् । शाह कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरुजु राणाका विश्वास पात्र हुन् ।

कांग्रेसका प्रदेश सभा सदस्य पुर्णबहादुर खत्रीले कसको नेतृत्वमा सरकारमा जाने र को–को मन्त्री बन्ने भन्ने कुरा सबै गर्भमै रहेको बताए । ‘दल नेता भएको भए हामी काठमाडौँ आउनु पर्ने थिएन, पूर्ण दाइ र जीवन दाइ दुवै यतै भएकाले यतै आएका हौँ,’उनले भने ।

प्रदेशमा संस्थापन समूहकै पार्टी उपसभापति पूर्णबहादुर खड्का र जीवनबहादुर शाहीको नै बलियो प्रभाव छ । उनीहरुले कसको नेतृत्वमा पठाउने भन्ने विषयमा गृहकार्य चलाइरहेको स्रोतको दाबी छ । स्रोतहरुका अनुसार सम्भवतः यो पटक राजीव विक्रम शाहकै नेतृत्वमा सरकारमा जाने हुन सक्छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले अहिले सबै सदस्यको मन्त्री बन्ने चाहना रहेको बताए ।

सुर्खेतबाट प्रकाशित प्रदेश रैबार साप्ताहिकमा समाचार प्रकाशित भएको छ ।

तपाईको प्रतिक्रिया