कांग्रेसभित्र नयाँ गुटको अभ्यासमा लागेका हुन् पूर्णबहादुर ?

काठमाडौं ।  ‘उहाँ (शेरबहादुर देउवा) सँगको सम्बन्धलाई सन्तुलनमा राख्नुहोला, चार महिनामै परिस्थिति अनुकूल भई त हाल्छ । हन्ड्रेड पर्सेन्ट ४ महिना, आजको मिति गनेरै बसौं,’ गत असार २८ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मतका लागि राखेको प्रस्तावमाथिको छलफलमा नेकपा एसका नेता मेटमणि चौधरीको यो भाषणले प्रतिनिधिसभामा हाँसोको फोहोरा छुटेको थियो ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, केन्दीय सदस्य जिवन बहादुर शाही र राजिव विक्रम शाह । 

कांग्रेस र एमाले मिलेपछि सत्ता गुमाउँदै गरेका प्रचण्डलाई ढाडस दिँदै मेटमणिले यस्तो भनेका थिए । मेटमणिले ‘कांग्रेस सभापति शेरबहादुर देउवालाई दोषी नदेख्नुस्, फेरि परिस्थिति तपाईं अनुकूल भइहाल्छ’ भन्दा हाँसो रोक्न गाह्रो पर्नेमध्येका एक थिए, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का ।

मेटमणिले भाषण गरिरहँदा देउवा हाँस्न सकेनन्, उनलाई केही अप्ठ्यारो लागेको प्रस्टै बुझ्न सकिन्थ्यो । तर, सँगै बसेका खड्कालाई भने हाँसो रोक्न मुस्किल पर्‍यो ।

‘चार महिना, आजको मिति गनेरै बसौं । चार महिनामा परिस्थिति तपाईंकै पक्षमा हुन्छ । त्यसैले सबैसँग बराबर सन्तुलनमा रहेर व्यवहार गर्नुहोला’ मेटमणिले प्रचण्डलाई भनेका थिए ।

कतिपयले खड्काको यो हाउभाउ हेरेर उनले कांग्रेस–एमाले सहमति नरुचाएको अर्थमा व्याख्या गरेका छन् । किनकि कांग्रेसमा सभापति देउवाको भावी उत्तराधिकारीको को बन्ने भन्ने प्रस्ट नभइरहेका बेला देउवाले नै उपसभापति बनाएका खड्काको यो प्रतिक्रियालाई अस्वाभाविक मानिएको छ ।

असार १७ गते भएको सहमतिमा एमाले अध्यक्ष केपी शर्मा ओली २ वर्ष र त्यसपछि कांग्रेस सभापति देउवा झण्डै डेढ वर्ष २०८४ मंसिरको चुनावसम्म प्रधानमन्त्री बन्ने उल्लेख छ ।

यो समझदारीको विरोधमा रहेका मेटमणिले बोल्दा देउवाकै उपसभापतिले अस्वाभाविक प्रतिक्रिया देखाउनुले पछिल्लो समय कांग्रेसमा देउवासँग पूर्णबहादुरको सम्बन्ध सौहार्द छैन भन्ने देखाउने विश्लेषण कांग्रेसकै एक नेताले गरे । ओली सरकारमा कांग्रेसबाट कर्णालीकै ऐनबहादुर शाही वनमन्त्री भए । शाही सभापति देउवा निकटका हुन् । तर, भूगोलको प्रभावका आधारमा खड्काले उनी आफूतिर रहेको सन्देश प्रवाह गराइरहेका छन् ।

१५ औं महाधिवेशनमा देउवाको आशीर्वाद नपाउने बुझेरै खड्काले नयाँ गुटको अभ्यास गरेको नेताहरू दाबी गर्छन् । खड्का कर्णाली प्रदेशको सुर्खेतबाट चुनाव जितेका नेता हुन् । अहिले उनी कर्णालीको पार्टी राजनीतिलाई आफूअनुकूल बनाउन लागिरहेका छन् । यसैले मुगुबाट चुनाव जितेका शाहीलाई आफूले लबिङ गरेर मन्त्री बनाएको सन्देश उनले दिएको नेताहरू बताउँछन् ।

यतिमात्रै होइन, कर्णाली प्रदेशको मुख्यमन्त्री एमालेको भागमा परेको छ । तर, कांग्रेसबाट कसलाई मन्त्री बनाउने भन्नेमा पूर्णबहादुर हावी हुन खोजेका छन् । देउवा समूहमा रहे पनि कर्णालीका निलम्बित कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही र राजीवविक्रम शाहलाई आफूतिरै राखिराख्ने ध्याउन्नमा खड्का लागेको नेताहरू बताउँछन् । कर्णालीमा कसलाई मन्त्री बनाउने भनेर खड्काले काठमाडौंमा नियमित छलफल गरिरहेको नेताहरू बताउँछन् ।

यी तिनै नेताहरू तीज गीत सार्वजनिक कार्यक्रममा केही दिनअगाडि एउटै मञ्चमा उभिएका थिए । काठमाडौंमा डा‍. महेन्द्रकुमार मल्लको ‘नाचिदे कान्छी’ तीज गीत विमोचन कार्यक्रममा खड्का, शाही र शाह पहिलोपटक सँगै देखिएका थिए । ‘साविक कर्णालीबाट प्रतिनिधित्व गर्ने भए पनि ३ जनामात्र नेता कहिल्यै पनि एकैचोटी मञ्चमा देखिएका थिएनन्,’ कर्णालीकै एक नेता भन्छन्, ‘सामान्य गीत विमोचनका अवसर भए पनि हामी सँगै छौं भन्ने सन्देश उहाँहरूले दिएको पाएका छौं ।’

उपसभापति खड्काको मुख्य ध्यान देउवाकै आशीर्वादमा १५ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने छ । तर अहिलेसम्म देउवाबाट उनले सकारात्मक जवाफ नपाएको नेताहरू बताउँछन् । त्यसैले देउवामाथि दबाब बढाउन कर्णालीको आन्तरिक राजनीति आफ्नो होल्डमा रहेको, खुमबहादुर खड्काको लिगेसी पनि आफूसँग रहेको देखाउने धुनमा खड्का लागेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका बालकृष्ण खाँणको राजनीति धरापमा परेपछि उनको समेत प्रभावलाई आफूतिर तान्ने धुनमा खड्का लागेको नेताहरू दाबी गर्छन् । ‘उपसभापति भएपछि स्वतः दाबेदारी सभापतिकै लागि हो । सभापतिमा उम्मेदवारी दिने वा राजनीतिबाटै सन्यास लिनेभन्दा अरू विकल्प उहँसँग छैन,’ कांग्रेस स्रोत भन्छ, ‘अहिलेसम्म प्राविधिकरूपमा संस्थापन (देउवा) निकट रहेकै बेला उनको आशीर्वाद खोज्ने, सँगै उनीतिरका नेतालाई आफूतिर तान्ने धुनमा उहाँ हुनुहुन्छजस्तो लाग्छ ।’

कांग्रेसमा १४औं महाधिवेशनबाट जितेका दुई उपसभापति खड्का र धनराज गुरुङ हुन् । गुरुङ शेखर–गगन पक्षबाट जित्दा खड्का संस्थापनबाट जितेका थिए । त्यसैले यो कार्यकालभरि कांग्रेसको संगठनमा खड्काको पदीय उपस्थिति बलियो नै रहने देखिन्छ । अब कम्तीमा ३ वर्ष हाराहारीमा देउवामाथि दबाब बढाउन पनि आफ्नो समूहलाई बलियो बनाउने ध्याउन्नमा खड्का लागेको नेताहरू बताउँछन् । तर, देउवा समूहभित्रै खुलेर गुट चलाउन खड्कालाई सहज नभएको अर्का एक नेताको आकलन छ ।

‘अहिलेसम्म कांग्रेसमा सभापति, उपसभापति अनि प्रदेश र जिल्ला तहका नेताको क्रम छ,’ एक नेता भन्छन्, ‘उपसभापतिले अलिकति मुभ गर्न खोजेकोजस्तो देखिएको छ । तर, उहाँले खुलेर टीम बनाएँ भनिसक्नुभएको छैन । संस्थापनकै नेता र कार्यकर्तालाई इन्गेज गरिरहनेजस्तो शैली देखाउनुभएको छ ।’

कर्णालीका शाही, शाह र वनमन्त्री बनेका ऐनबहादुरलाई आफ्नो समूहको भनेर खड्काले देउवामाथि दबाब बढाएको नेताहरू टिप्पणी गर्छन् । ‘कांग्रेसमा देउवाले आरजुलाई अगाडि बढाउने प्रस्टै संकेत देखिइसकेका छन् । यसैले १५ औं महाधिवेशनमा आफ्नो पालो नआउने चिन्ता उपसभापति खड्कालाई लागेको देखिन्छ’, कांग्रेस स्रोत भन्छ, ‘देउवापछि अब मै हुँ भनेर खड्काले दाबेदारी पेश गर्न सक्नुहुन्छ, तर हस्तक्षेप गर्नेगरी प्रभाव बनाउन सक्नुहोला भन्ने लाग्दैन ।’

१४ औं महाधिवेशनअगाडि नै विमलेन्द्र निधिले सभापतिमा दाबेदारी पेश गर्दा उनका धेरै नेता पराजित भएको भन्दै कांग्रेस स्रोतले खड्कालाई खुलेर गुटबन्दी गर्न गाह्रो रहेको बतायो ।

‘१४ औं महाधिवेशनअघि उपसभापति विमलेन्द्र निधिले सभापतिमा पहिल्यै उम्मेदवारी घोषणा गरे । त्यसैले उनका मान्छेलाई छानीछानी हराइदिए,’ कांग्रेस स्रोत भन्छ, ‘यसैले पूर्णबहादुरलाई खुमबहादुरको गुट धान्नुपर्ने बाध्यता छ । पूर्ण देउवाविरुद्ध जान सक्दैनन् । महाधिवेशनमा यही टीमबाट आफ्ना मान्छे स्थापित गर्नु नै उनको ठूलो राजनीतिक उपलब्धि हो । अहिलेको उनको मुभमेन्ट पनि देउवालाई बलियो चुनौती दिनभन्दा आफ्ना मान्छे स्थापित गर्नलाई हो भन्ने लाग्छ ।’

लोकान्तरको सहयोगमा

तपाईको प्रतिक्रिया