सुर्खेत। रुकुमपश्चिमको आठबिसकोट नगरपालिका –१२ को सार्किबारा बस्तीका चार घर पहिरोले पुरेको छ । लगातार वर्षाका कारण गएको पहिरोले आइतबार राति चार घर पहिरोले भगाएको हो ।
गिजागाड खोलामा आएको बाढीका कारण सार्कीबारामा पहिरो गएको थियो । वडा अध्यक्ष खम्मे कुसारीका अनुसार पहिरोमा परेर चार घर भत्किएका छन् । स्थानीय नन्दे सार्की, अलबहादुर सार्की, मनबहादुर सार्कीको र अर्जुन सार्कीको घर पहिरोमा परेर भत्किएका छन् ।
लगातारको बर्षाका कारण बस्ती नै जोखिममा परेपछि आइतबार बेलुका जोखिममा रहेका १० घरपरिवारलाई वडा कार्यालयमा सारिएको छ । बेलैमा बस्तीका स्थानीयलाई वडा कार्यालयमा सारिएकोेले मानवीय क्षति हुन पाएन अध्यक्ष सुकारीले बताए।
घर पहिरोमा पुरिएपछि त्यहाँभित्र रहेका अन्नपात लगायतका सामग्रीहरु पुरिएका छन् । गिजागाड खोलाको सतह बढेकाले पल्लोपट्टि रहेको सो बस्तीमा जान नसकिएको वडा अध्यक्ष कुसारीले बताए। क्षतिको विवरण सङ्कलन गर्न नसकिएको उनको भनाइ छ ।
सो बस्ती नै जोखिममा छ । गिजागाड खोला र उक्त पहिरो गएको स्थानका १० घर उच्च जोखिममा रहेको र पहिरोभन्दा माथिल्लो भागमा रहेको सम्पूर्ण बस्ती नै जोखिममा रहेको वडाध्यक्ष कुसारीले बताए ।
मनसुन सुरु भए यता यस वडामा चार जनाको मृत्यु भएको छ ।
नेपालीरैबार । २०८१ श्रावण १४, सोमबार