सुर्खेत। जुम्लामा चट्याङ पर्दा एक सय भेडाको मृत्यु भएको छ । जिल्लाको तिला गाउँपालिका पालिका वडा नं ६ र ९ मा पर्ने देउली पाटनमा चट्याङ लागेर मङ्गलबार तिला–७ का पोख्रीका नौ जना किसानका एक सय भेडा मरेका हुन् ।
तिला गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाका अनुसार चट्याङबाट भेडापालक किसान भीमबहादुर रोकाया, लालसिंह रोकाया, कालीबहादुर रोकाया, वीरबहादुर रोकाया, बलबहादुर रोकाया, कालीबहादुर बोहोरा, नैने बुढा र रामबहादुर रोकायाका भेडा मरेको हुन् ।
“कसका कति भेडा मरेका हुन् भन्ने एकिन विवरण आउन बाँकी छ । चट्याङमा परी तिला–७ का अन्दाजी ५५ वर्षीय लालसिंह रोकाया सामान्य घाइते भएका छन्”, अध्यक्ष रोकायाले भने,“यसरी मरेका भेडाको बीमासमेत नगरिएकाले किसानलाई निकै ठूलो आर्थिक क्षति भएको छ । अब पालिकाको विपद् व्यवस्थापन समिति बैठकबाट राहतका लागि आवश्यक निर्णय गर्नेछौँ ।
नेपालीरैबार । २०८१ श्रावण १६, बुधबार