कर्णालीमा किन रोकियो मन्त्रीहरुको शपथ?

सुर्खेत। कर्णालीमा नेपाली कांग्रेसबाट सिफारिस ४ जना मन्त्रीहरूको शपथ ग्रहण शुक्रबार हुने भनिए पनि अन्तिम  समयमा रोकिएको छ । कांग्रेसले शुक्रबार बिहान ११ बजेनै मुख्यमन्त्री यामलाल कँडेललाई मन्त्रीको नाम बुझाइसकेको थियो । कांग्रेसले आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाह, सामाजिक विकासमा घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरणमा सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा विजया बुढाको नाम दिएको थियो । कांग्रेसले शुक्रबार नै शपथ हुने गरी मन्त्रीको नामावली मुख्यमन्त्रीलाई बुझाए पनि सपथ हुन सकेन् ।

यता कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले आफूहरूले शुक्रबार बिहानै मुख्यमन्त्रीलाई मन्त्रीहरूको नामावली बुझाएको बताए । बिष्टले आन्तरिक कारणले सपथ रोकिएको भनेर मुख्यमन्त्रीले शुक्रबार साँझ जानकारी गराएको बताए । उनले नेपालीरैबारलाई भने, प्रदेश प्रमुखको स्वागतमा समय दिनुपर्ने भयो, आन्तरिक कारण पनि होला । तर सत्ता गठबन्धनमा कुनै समस्या समस्या छैन् ।

बिष्टले आफुलाई मुख्यमन्त्री कँडेलले आईतबार बिहानै सपथ हुने सङ्केत गरेको बताए । कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही वाईडवडी प्रकरणले निलम्बनमा परेसँगै प्रदेशमा प्रमुख सचेतकका रूपमा विष्टले नै पार्टीको तर्फबाट नेतृत्व गरिरहेका छन ।

यता मुख्यमन्त्रीको सचिवालयले पनि शुक्रबार कांग्रेसका मन्त्रीको शपथ आन्तरिक तयारी नपुगेका कारण नभएको जनाएको छ । प्रदेश प्रमुख यज्ञराज जोशी शुक्रबार बिहान मात्रै कर्णाली आएर पदभार ग्रहण गरेका थिए ।

तपाईको प्रतिक्रिया