कर्णाली राजमार्ग : टालटुलमा करोडौँ खर्च अवस्था उस्तै, नागरिकलाई सधै हैरानी

सुर्खेत । सुर्खेतबाट जुम्ला जोड्ने सडक हो, कर्णाली राजमार्ग । प्रदेश राजधानी वीरेन्द्रनगरबाट दैलेख, कालिकोट हुँदै कर्णाली नदिको किनारै किनार भएर जुम्ला पुग्ने मार्ग अर्थात् कर्णाली राजमार्ग । यो राजमार्ग कर्णालीको प्रमुख पर्यटकीयस्थल रारा जोड्ने प्रमुख मार्ग समेत हो । यो राजमार्गलाई कर्णाली विकासको मेरुदण्ड समेत मानिएको छ । राजमार्ग सञ्चालनमा आएयता सानादेखि भयानक दुर्घटनाहरू भएका छन् ।

दुर्घटनाको क्रम अहिले पनि रोकिएको छैन् । तर पनि सरकारले यो सडकको स्तरोन्नतिमा ध्यानै पु¥याउन सकेको छैन । खाल्डा टालटुलका लागि फाट्ट–फुट्ट बजेट आउने गरे पनि समर्ग राजमार्ग विकासका लागि पर्याप्त बजेट नआउँदा सवारी दुर्घटनाहरू दिनप्रतिदिन बढीरहेका छन् । कर्णाली राजमार्गमा भएका सानादेखि ठूला दुर्घटनाका घटना थुप्रै छन् । घटना २०६३ चैत्रको हो । कालिकोटको हुल्मदेखि सुर्खेतका लागि प्रस्थान गरेको बस आफ्नै गतिमा हुइकिरहेको थियो । बसमा साहु, चालक र सहचालकबाहेक ४७ यात्रु थिए ।

दैलेखको आठबीस नगरपालिकाको किटुबाट अघि बढ्न नपाउँदै यात्रुबाहक बसको टायरले सडकको लिक छोड्यो । बस कर्णाली नदिमा खस्यो । आ–आफ्नै सपना बोकेर यात्रारत यात्रुहरूको सपना त्यहीँ टुंगियो । उक्त दुर्घटनामा ४२ जनाले ज्यान गुमाए । जो कर्णाली राजमार्ग सञ्चालनमा आएयताको सबै भन्दा ठूलो र भयानक दुर्घटना थियो । त्यो कहालीलाग्दो दुर्घटनापछि राजमार्गमा यात्रा गर्ने जो कोहीलाई झस्काउँछ ।

कर्णाली राजमार्गमा दुर्घटनाको क्रम यतिमै सीमित रहेन । यात्रुबाहक सवारीसाधन दुर्घटना हुने क्रम बढिरहेको छ । २०६८ मा कालीकोटको सेराबाडामा भएको दुर्घटनामा २८ जना यात्रुले ज्यान गुमाए । २०७१ मा जुम्लाको रारालिहीमा बस दुर्घटना हुँदा १८ जनाको ज्यान गयो । त्यसबीचमा भएका दुर्घटनामा जुम्लाको गाडगडेनीमा १३, दैलेखको खिड्कीमा १४ र सुर्खेतको कल्याणकाधमा १५ को मृत्यु भएको थियो ।

नेपालगञ्जबाट सुर्खेत हुँदै मुगुको सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस मुगुको छायानाथ रारा नगरपालिका–७ पिनाटप्ने खोलामा दुर्घटना हुँदा ३३ जनाको मृत्यु भएको थियो । कर्णाली राजमार्गमा पुःन बस दुर्घटना भयो । कालीकोटबाट सुर्खेत जाँदै गरेको बस दुर्घटनामा चार जनाले ज्यान गुमाए । म १ ख ६६० नम्बरको बस दैलेखको आठबीस नगरपालिका–२ सिस्नेस्थित कर्णाली राजमार्गमा दुर्घटना परेको थियो । यी राजमार्ग सञ्चालनमा आएपछि भएका केही ठूला दुर्घटना हुन् । स–साना दुर्घटनाहरू दैनिक जसो भइ नै रहन्छन् । यो राजमार्गमा भएका दुर्घटनामा अहिलेसम्म सयौँ कर्णाली बासीले ज्यान गुमाइसकेका छन् ।

कर्णाली राजमार्गमा बर्सेनि सडक मर्मतका नाममा करोडौँ रुपैयाँ खर्च हुने गरेको भए पनि सडकको अवस्था उस्तै रहने गरेको छ । बर्सेनि कर्णाली राजमार्ग मर्मत तथा सम्भारका नाममा बजेट आउने भए पनि भत्केको ठाउँमा सामान्य मर्मत गरेर बजेट मात्र सक्ने परिपाटी छ । अगाडिबाट सडकमा ओटासिल हाल्दै जाने र पछिबाट उप्किँदै जाने भएकाले सडक सुधारका नाममा बजेट मात्र खर्च हुने गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा कर्णाली राजमार्गको मर्मतका लागि झन्डै १६ करोड बजेट खर्च भएको थियो भने आर्थिक वर्ष २०७८/८९ मा २६ करोड बजेट खर्च आर्थिक वर्ष २०७९/८० सोही हाराहारीमा बजेट खर्च भएको थियो । विभिन्न खण्डमा भाग गरेर मर्मतका लागि भनेर ठेक्कामार्फत काम सुरु गरिएको थियो । निर्माण व्यवसायीले ठेक्का पनि हाले तर सडक बनाउने नाममा खाल्डाखुल्डी मात्र पुरे, कतै ओटासिल गरिएको थियो ।

अगाडिबाट ओटासिल हाले पनि पछिबाटै उप्किँदै जाने गरेको तिलागुफा नगरपालिका–४, राँचुलीमन पूर्व वडाध्यक्ष खड्कराज शाही बताउछन् । ‘मेरो वडाको राँचुलीमा सडकमा कालोपत्रे गरेको १५ दिनमा सडक पुरानै अवस्थामा परिणत भएको छ,’ उनले भने, केही दिनसम्म कालो राम्रो देखिएको सडक दुई हप्तापछि हेर्दा पहिलेको जस्तै जीर्ण बनेको छ ।

सडक कालोपत्रे गर्दा सडकमा रहेको माटो राम्रोसँग सफा गर्ने त्यसपछि पानीले माटो सबै बगाएर खाली कङ्क्रिटमाथि कालोपत्रे गर्दा मात्र त्यो सडक बलियो हुने आफूले सुनेको पूर्ववडाध्यक्ष शाहीले बताए । कर्णाली राजमार्ग स्तोरोन्तीमा राज्यको ध्यान नजानु, भएको बजेट सदुपयोगको प्रभावकारी अनुगमन र मूल्यांकन नहुँदा कर्णालीका लोकमार्ग सास्ती र ज्यान गुमाउने मार्ग बन्दै गएको छ । साविक कर्णालीको एकमात्र विकल्प कर्णाली राजमार्गको स्तरोन्तीमा राज्य बेखबर बन्दा नागरिक हिलाम्मे र धुलाम्मे सडकमा असुरक्षित यात्रा गर्न बाध्य हुनुपरेको छ ।

तपाईको प्रतिक्रिया