सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नागरिकले दुःख नपाउने गरि यातायातको व्यवस्था मिलाउन संबन्धित निकायलाई निर्देशन दिएका छन । आन्तरिक मामिला तथा कानून मन्त्रालय कर्णाली प्रदेशले आज वीरेन्द्रनगरमा सुरक्षा निकाय, यातायात व्यवसायी तथा यातायात क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरुसँग गरेको छलफल कार्यक्रममा मुख्यमन्त्री कडेलले यातायात क्षेत्रलाई जति प्रतिस्पर्धी बनायो त्यतिनै नागरिकले सेवा पाउने हुँदा नागरिकलाई सुविधा हुने गरि यातायात क्षेत्रलाई प्रतिस्पर्धी बनाउन पनि व्यवसायीलाई सुझाव दिए । उनले भने,तपाईहरुका पनि आ—आफना बाध्यता छन होला तर जति प्रतिस्पर्धी बन्नुहुन्छ नागरिकले त्यतिनै सुविधा पाउँछन, नागरिकलाई सुविधा दिने दायित्व पनि तपाईहरुकै हो ।
कार्यक्रममा मुख्यमन्त्री कडेलले सुरक्षा चेकजाँचलाई थप सहज बनाउन पनि निर्देशन दिएका छन । राजमार्गमा यात्रु चेकजाँचको नाममा ठाँउमा ठाँउमा चेकजाँच हुने यातायात व्यवसायीले गुनासो गरेपछि मुख्यमन्त्री कँडेलले सुरक्षा चेकजाँच गर्ने अधिकार भएपनि आवश्यकताको आधारमा राजमार्गमा चेकजाँचको व्यवस्था गर्नुपर्ने बताए । उनले भने, तपाईहरुले आवश्यकताको आधारमा जहाँपनि चेकजाँच गर्न सक्नुहुन्छ तर आवश्यकता नदेखिएको ठाँउमा चेकजाँच गर्ने कुराले यात्रुले अनाहकमा दुख पाउँछन त्यसलाई कसरी हो सुधार्नेतर्फ ध्यान दिनुहोला ।
मुख्यमन्त्री कडेलले जनशक्ति र साधन श्रोतको अभावका कारण पनि ट्राफिक प्रहरीले देखाएको सक्रियताको प्रशंसा गर्दे कर्णाली प्रवेशद्धारको मुख्य नाकामा सवारी साधनको डिजिटल रेकर्ड र संवेदनशिल स्थानहरुमा सिसि क्यामेरा राख्न प्रदेश सरकारले आवश्यक तयारी गरिरेहको जानकारी दिए।
कार्यक्रममा वीरेन्द्रननगर नगरपालिकाका मेयर मोहनमाया ढकालले नगर क्षेत्रको पार्किङ्ग व्यवस्थापनलाई नयाँ तरिकाले संवोधन गर्न लागिएको बताइन । उनले बजारको चाप बढेसँग अहिलेको पार्किङ्गको व्यवस्था साघुरो हुने हुँदा यसलाई व्यवस्थित गर्ने तयारी भइरहेको बताइन ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्र भट्टले अरु बेलाभन्दा चाडवाडको बेला दुर्घटनाको जोखिम बढी हुने भएकोले प्रदेश प्रहरी कार्यालयले नियमितसँगै चाडवाड लक्षित सडक सुरक्षा बनाएको जानकारी दिए । कर्णाली ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अपिलराज बोहरा एकजना प्रहरीले ३८ किलोमिटरसम्म हेर्नु पर्ने बताउँदै जनशक्ति र साधन श्रोतको अभावमा पनि ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापनमा उत्कृष्ट काम गरिरहेको जानकारी दिए।
नेपालीरैबार । २०८१ आश्विन ७, सोमबार