दसैं आयो : कस्तो छ कर्णालीका सडकको अवस्था ?

जोखिमयुक्त ठाउँमा डोजर, टिप्पर तैथान, ठाउँ–ठाउँमा चेकिङ्ग र यात्रु सहायता कक्ष

सुर्खेत । भोली विहिबारदेखी बडा दसैं सुरु हुन्छ । प्रहरीका अनुसार दसैं मनाउनका लागि प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगरबाट हजारौं मान्छे बाहिरिन्छन् भने उत्तिकै मात्रा भित्रिन्छन्, पनि । यद्यपि ठ्याक्कै यत्तिको सङ्ख्यामा राजधानी छाड्ने भन्ने यकिन तथ्याङ्क प्रहरीसँग छैन । कर्णाली प्रदेशका अन्य जिल्लाहरुबाट रोजगारीदेखी अध्ययनका लागि हजारौँ मान्छेहरु वीरेन्द्रनगरमा बस्छन् ।

घटस्थापनाको दिनपछि नागरिकहरु विस्तारै गाउँ फर्कने क्रम सुरु हुन्छ । दसैंका अवसरमा सार्वजनिक सवारी साधन बाहेक दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीमा वीरेन्द्रनगर छाड्ने र भित्रिनेहरुको सङ्ख्या हजारौँ हुने गरेको छ । तर हजारौं सवारी मानिसहरु गाउँ फर्कन मिल्ने र सहज रुपमा सवारी साधन चल्ने सडक संरचनाबारे भने चिन्ता गर्नुपर्ने अवस्था छ, कर्णालीमा ।

विशेषगरी कर्णाली राजमार्ग (सुर्खेत–जुम्ला), सुर्खेत–दैलेख, भेरी करिडोर छिन्चु–जाजरकोट, सल्यान–रुकुम र मध्यपहाडी लगायतका प्रमुख राजमार्गहरुको अवस्था अविरल वर्षाका कारण राम्रो नभएको सवारी चालकहरु बताउँछन् । कर्णाली आफैमा सडक सुरक्षाको दृष्टिले ज्यादै समवेदनशील र जोखिमयुक्त छन् । अझ वर्षाका कारण ठाउँ–ठाउँमा सडकको अवस्था बेहाल छ ।

पहिरो जाने बित्तिकै तत्काल पन्छाएर हटाउने बाहेक स्तोरन्नति र मर्मत भने हुन सकिरहेको अवस्था छैन । यदि दसैंसम्म पुनः ठुलो पानी परेपछि सडकको अवस्था बिग्रिने सम्भावना धेरै रहेको प्रदेश ट्राफिक कार्यालयका प्रहरी निरीक्षक हरी विसीले नेपाली रैबारलाई बताउँछन् ।

उनका अनुसार कर्णाली करिडोर, कर्णाली राजमार्गको तल्लो डुङ्गेश्वर–दहिखोला र गगनेखोलादेखि कालिकोट खण्डको अवस्था निकै नाजुक छ । पानी परेको खण्डमा समस्या आउने उनको अनुमान छ । यस्तै सल्यानको कपुरकोट खण्ड, भेरी करिडोरको शान्ति चौतारा खण्डमा समस्या आउने उनी बताउँछन् ।

‘पानी नपरे त खासै समस्या आउँदैन तर, पानी परेको खण्डमा यी ठाउँहरुमा पहिरो आउने, लेदो बग्ने हुँदा समस्या हुने देखिन्छ,’उनले भने, ‘ती क्षेत्रहरुमा ट्राफिक व्यवस्थापन टाइट गर्ने काम भइरहेको छ ।

प्रमुख राजमार्ग बाहेक गाउँका सडकहरुको अवस्था पनि उस्तै छन् । सडक सञ्जाल बनाउनका लागि स्थानीय पालिका, प्रदेश हुँदै संघ सरकारले पहिलो प्राथमिकता दिँदै आएपनि ती सडकको स्तोरन्नति र सुरक्षा प्राथमिकता देखिएको देखिँदैन । जसका कारण दुर्घटना बढ्ने सम्भावना उत्तिकै छ ।

कर्णालीका झण्डै तीन हजार किलोमिटर सडक विस्तार भएको छ । त्यसमा कालोपत्रे सडकको अवस्था निकै न्यून छ । प्रदेशका यातायात कार्यालयहरुमा मात्रै करिब तीन हजार बढी सवारी साधनहरु दर्ता भएका छन् । जबकि त्यो भन्दा धेरै सवारी साधनहरु बाहिरका चल्ने गरेको प्रहरीको अनुमान छ ।

सडक डिभिजन कार्यालय सुर्खेतका सुचना अधिकारी टोप नारायण पौडेलका अनुसार कर्णाली राजमार्गका जोखियुक्त ठाउँलाई लक्षित गरेर डोजर (मेसिन), टिप्परहरु तैनाथ गरिएको छ ।

दैलेख खण्डका मात्रै राकम कर्णाली, डुङ्गेश्वरमा मेसिन राखिएको छ भने सुर्खेत–दैलेख सदरमुकाम सडक अन्तर्गत तालपोखरीमा अर्को मेसिन राखिएको छ । ‘दसैं अगाडि नै हामी दहिखोलाबाट खाल्डाखुल्डी पुर्ने, सम्याउने लगायतका कामहरु गर्छौँ,’उनले भने, ‘खाल्डारहित बनाएपनि केही राहत हुन्छ ।’ छिन्चुु–जाजरकोट सडकमा जोखिम नरहेको उनले बताए । यद्यपि एउटा सहायक मार्गमा समस्या छ । यदि पानी परेको खण्डमा पहिरो गएको खण्डमा पनि मेसिनहरु ‘स्ट्याण्डवाई’ रहने पौडेलले नेपाली रैबारलाई बताउँछन् ।

ठुला राजमार्गमा केन्द्र अन्तर्गतको सडक डिभिजनले हेर्ने गरेपनि प्रदेश सरकारको भूमिका भने खासै रहेने गरेको पाइँदैन । कर्णालीका भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्री शेरबहादुर बुढालाई यो विषयमा बुझ्न खोज्दा उनले फोन उठाएनन् । राजमार्ग केन्द्र सरकार अन्तर्गत भएको भन्दै प्रदेश सरकार पन्छिने काम गरिरहेको छ ।

सुरक्षा योजना

यात्रुलाई सहज रुपमा गन्तव्यमा पु¥याउनका लागि ठाउँ–ठाउँमा चेकिङ्ग थप्ने, यात्रु सहायता कक्ष राख्ने, अनुगमनलाई कडाइ पारिने योजनाहरु रहेको प्रदेश ट्राफिक कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक तथा सुचना अधिकारी हरी विसीका अनुसार प्रदेशका विभिन्न ठाउँमा चाडपर्व लक्षित २३ वटा यात्रु सहायता कक्ष राख्ने काम भइरहेको छ । ती कक्षहरुमा ६० जना ट्राफिक प्रहरी रहनेछन् ।

७ स्थानमा रि–फ्रेस सेण्टर राखिने छ । लामा दुरीका सवारी साधनहरु उक्त ठाउँमा रोकेर केही समय आराम मिल्ने गर्न पाउँछन् । मापसे, लापसे चेकिङ्गलाई थप कडाइ गरिएको छ भने जाजरकोटमा टाइमकार्ड लागु गरिएको उनले बताए । यद्यपि जनशक्ति भने न्यून छ । प्रदेशभर २ सय ७४ जना मात्रै ट्राफिक प्रहरी छन् । उनका अनुसार कर्णालीमा जम्मा १ सय ६८ जना ट्राफिकको दरबन्दी रहेको छ । बाँकी काजमा खटाइएका हुन् । चाडपर्वलाई लक्षित गरेर अहिले २५ जनालाई काजमा थप गरिएको छ ।

तपाईको प्रतिक्रिया