दैलेख। आर्थिक वर्ष २०८१/०८२ सुरु भएको तीन महिना बित्न लाग्दा समेत दैलेखको भैरवी गाउँपालिकाले गाउँ सभा बाट बजेट पारित नगरेका कारण कर्मचारीको तलब भत्ता खुवाउन कठिनाइ भएको छ । असार ३१ को गाउँ सभामा प्रस्तुत बजेटमा विवाद हुँदा बजेट विनियोजन गरिएको बजेटमा आफ्नो वडामा बजेट बढी लीने होडबाजीले विवाद हुँदा अहिले सम्म गाउँ सभाबाट बजेट पारित हुन सकेको छैन ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ मा स्थानीय तहले आगामी वर्षको राजश्व र व्ययको अनुमान कार्यपालिकाबाट स्वीकृत गराई असार १० गते भित्र पेस गर्ने र यसरी पेस भएको बजेटमा छलफल गरी असार मसान्तसम्म सभाबाट पारित गर्नुपर्ने व्यवस्था छ ।
सोही ऐनको दफा ७३ मा सभाबाट बजेट स्वीकृत भएको सात दिन भित्र स्थानीय तहको प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई बजेट खर्च गर्ने अख्तियारी प्रदान गर्ने व्यवस्था भए पनि भैरवी गाउँपालिकाले गाउँ सभा बाट बजेट स्वीकृत नहुँदा दसैँको मुखमा कर्मचारीलाई तलब भत्ता खुवाउन समेत समस्या भएको भैरवी गाउँपालिकाले जानकारी दिएको छ ।
भैरवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र थापाले स्थानीय सरकार सञ्चालन ऐनले निर्देशित गरेको व्यवस्था बमोजिम बजेट पारित नहुँदा कर्मचारीलाई तलब खुवाउन समस्या भएको बताए । उनले बजेटको विवादले बजेट सूत्रमा हाल्न नसकेको र आफूले अख्तियारी समेत नपाएका कारण तलब भत्ता खुवाउन समस्या आएको बताए ।
उनले भने, लेखा अधिकृत परीक्षा दिन बाहिर गएको र आए लगत्तै बजेट सूत्रमा हालेर विवाद समाधान गरेर तलब खुवाउन पहल गरिरहेको छु । आजदेखि घटस्थापना भएको र दसैँ बिदा पनि हुने हुँदा दसैँ अगावै कर्मचारी, शिक्षकको खातामा पैसा पठाउन सक्ने गरी योजना बनाएको उनको भनाइ छ । भैरवी गाउँपालिकाका उपाध्यक्ष देवी भण्डारीले सङ्घीय सरकारको बजेट प्राप्त भएको रकम फिर्ता९फ्रिज० गएका कारण गाउँपालिकामा विवाद आएको बताईन् ।

नेपालीरैबार । २०८१ आश्विन १७, बिहीबार