कर्णालीमा चाडपर्व सुरक्षाः १७ वटा समुहमा ४ हजार बढी प्रहरी ‘स्ट्याण्डवाई’

दैनिक चार हजारले प्रदेश राजधानी छाडिरहेको प्रहरीको आकलन

सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालयले चाडपर्व लक्षित सुरक्षा योजना बनाएर लागु गरेको छ । दसैँ, तिहार र छठ पर्व लक्षित ‘एकीकृत चाडपर्व सुरक्षा कार्य योजना २०८१’ तयार गरेर लागु गरिएको हो । प्रदेश प्रहरी कार्यालयका अनुसार उक्त सुरक्षा कार्य योजना घटस्थापनाको दिनबाट लागु भइसकेको छ । उक्त योजनालाई कार्यान्वयन गर्नका लागि प्रदेशभर एक हजार तीन सय ५१ वटा ड्युटीहरु तयार गरिएको छ । ती ड्युटी स्थानहरुमा चार हजार तीन सय ५१ जना प्रहरीहरू परिचालन गरिएको छ ।

खटाइएका प्रहरीमध्ये चार हजार ९९ जना जनपद प्रहरी रहेका छन् भने २५२ जना ट्राफिक प्रहरी रहेका छन् । सुरक्षा योजना अनुसार १२ वटा प्रदेश तथा जिल्ला कमान्ड पोस्टहरूमा १४५ जना प्रहरी परिचालन गरिएको छ । यो भनेको १० वटा जिल्ला प्रहरी, प्रदेश ट्राफिक कार्यालय र प्रदेश प्रहरी कार्यालयहरु हुन् । आपतकालिन घटनाहरुको लागि रिजर्भ टोली समेत बनाइएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार ४०१ प्रहरीको रिजर्भ टोली बनाइएको छ ।

उक्त टोली भवितव्य रूपमा कुनै घटना घटेको खण्डमा परिचालन गरेको प्रहरी जनशक्तिले नपुगेको खण्डमा रिजर्भ टोलीले सहयोग गर्छ । रिजर्भ टोली प्रदेशका विभिन्न १४ वटा ठाउँका राखिएको छ । यस्तै तीन वटा मातहत प्रहरी टोली बनाइएको छ । जसमा १४ जना प्रहरी जनशक्ति राखिएको छ । यस्तै ४८ वटा मोबाइल गस्ती टोली बनाइएको छ । जसमा २३४ जना प्रहरी खटाइएको छ । यस्तै प्रदेशभर १०२ ठाउँमा मोटरसाइकल गस्ती टिम बनाइएको छ, जसमा १५२ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ । १०९ स्थानमा क्युआरटी (क्वीक रेस्पोन्स टिम) बनाइएको छ । उक्त टिममा २४८ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ ।

यस्तै २३३ वटा पैदल गस्ती टोली बनाइएको छ भने उक्त टोलीहरूमा ६३७ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ । यस्तै लामो तथा छोटो दुरीको गस्ती १०० वटा बनाइएको छ । जसमा ३७७ जना प्रहरी खटाइएको छ । ११३ ठाउँमा पिकेट टोली बनाइएको छ जसमा २७६ प्रहरी परिचालन गरिएको छ । यस्तै स्ट्राईकिङ टोली ९ स्थानमा खटाइएको छ । त्यसमा ७६ प्रहरी परिचालन गरिएको छ ।

प्रदेशभित्रका महत्त्वपूर्ण प्रतिष्ठान, धार्मिक तथा पर्यटकीय स्थलहरूको सुरक्षाका लागि १९८ प्रहरी परिचालन गरिएको छ । प्रहरीले त्यस्ता ४४ स्थानको पहिचान गरेर प्रहरी खटाएको हो । यस्तै बैंक, वित्तीय सङ्घ–संस्था, बजार अनुगमन, विशिष्ट व्यक्तिको सुरक्षा लगायतका अन्य स्थानमा समेत गरी १९८ स्थानहरूमा ७५० प्रहरी परिचालन गरिएको छ । यस्तै ४२ प्रहरीलाई विभिन्न ठाउँमा सादा पोसाकमा खटाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । माइकिङ प्रचार प्रसारका लागि १७ वटा स्थानमा ४० जना प्रहरी खटाएको छ ।

सडक सुरक्षालाई अझ व्यवस्थित

कर्णालीका सडकहरु असुरक्षित छन् । प्रदेश प्रहरी कार्यालयले त्यसैलाई मध्यजर गरेर सडक सुरक्षालाई निकै कडाइ र व्यवस्थित गर्ने प्रयास गरेको छ । सुरक्षा योजना अनुसार प्रदेशभर १६२ वटा स्थानमा नियमित, विशेष तथा आकस्मिक चेकिङको व्यवस्था मिलाइएको छ । ती चेकिङ स्थलमा २९० जना प्रहरी ट्राफिक प्रहरी खटाइएको छ । साथै ८५ ठाउँमा ट्राफिकसहितको चेकिङ गर्ने व्यवस्था थप मिलाइएको छ । ती ठाउँहरूमा १९९ प्रहरी खटाइएको छ ।

यस्तै यात्रुहरूको सहजताका लागि भनेर दसैँ, तिहार लक्षित ६० वटा यात्रु सहायता तथा नागरिक सहायता कक्षहरू स्थापना गरिएको छ । ती कक्षहरूमा १७२ जना प्रहरीलाई खटाइएको छ । बाटोमा अलपत्र परेका यात्रुहरुको सहजताका लागि भनेर यात्रु सहायता कक्ष राखिएको प्रदेश ट्राफिक कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी हरी बिसीले बताए । उनी भन्छन्, ‘कोही गाडी नपाएका, समस्यामा परेका यात्रुहरूका लागि सहजीकरणका व्यवस्था गर्न यात्रु सहायक कक्षले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ ।’ उनका अनुसार ७ स्थानमा ‘रि–फ्रेस’ सेन्टर राखिने छ । लामा दुरीका सवारी साधनहरू उक्त ठाउँमा रोक्न मिल्ने र गाडी र यात्रुहरूले आराम गर्न पाउँछन्, ती सेन्टरहरुमा ।

राजधानीको सुरक्षा व्यवस्था

प्रदेश राजधानी वीरेन्द्रनगरको सुरक्षा योजना प्रहरीले निकै कडा बनाएको छ । सबैभन्दा धेरै जनसङ्ख्या भएको आपराधिक गतिविधिहरू बढ्न सक्ने आकलन गर्दै वीरेन्द्रनगरमा मात्रै साढे तीन सयको हाराहारीमा प्रहरी परिचालन गर्ने काम भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माका अनुसार सुर्खेत जिल्लाभर साढे ७ सय जनशक्ति खटाइएको छ । भ्यालीभित्र चाडपर्वको समयमा अपराधिक गतिविधि बढ्ने सम्भावनालाई मध्यनजर गर्दै साढे तीन सय प्रहरी परिचालन गरिएको उनले बताए ।

जनशक्ति सुर्खेतमा कम भएकाले बाहिरबाट मगाइएको पनि उनले बताए । ‘हामीले सुरक्षा योजना नै बनाएर काम गरिरहेका छौँ,’उनले भने, ‘ठाउँ–ठाउँमा प्रहरी खटाइने, चेक प्वाइन्टहरुलाई चुस्त, दुरुस्त बनाउने काम भइरहेको छ ।’

भयरहित बनाइने छः प्रमुख

दसैँ, तिहार र छठ पर्वको अवसरमा हुन सक्ने अवाञ्छित तथा आपराधिक गतिविधिहरूलाई नियन्त्रण एवं सडक सुशासन कायम गर्न उक्त योजना लागु गरिएको प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायव महानिरीक्षक जनक भट्टराईले बताए । चाडबाडको समयमा जुवातास, मापसे गरी झै–झगडा, आपराधिक घटना, सवारी दुर्घटनाका घटनाहरू र बैंक तथा वित्तीय सङ्घ–संस्था लगायतका क्षेत्रहरूलाई लक्षित गरी चोरी, डकैती, लुटपाट, गुण्डागर्दी, पाकेटमारी जस्ता आपराधिक गतिविधि निस्तेज र निरुत्साहित गर्न उक्त योजन तयार पारिएको भट्टराईले बताए ।

भट्टराईले विजया दशमी, दिपावली, छठपर्वलाई हर्सोल्लास र आपसी सदभावका साथ मर्यादित, सुरक्षित र भयरहित वातावरणमा मनाउने व्यवस्था मिलाउन सबै प्रहरी निकायलाई निर्देशन समेत दिइएको बताए । सवारी दुर्घटना, विपद व्यवस्थापन लगायतका चुनौतिका बिषयवस्तुहरुमा मातहत कार्यालय तथा जिल्ला प्रहरी प्रमुख प्रमुखहरुलाई भर्चुअल माध्यमद्वारा आइतबार उनले निर्देशन दिएका छन् ।

जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी बजार अनुगमन, अखाद्य वस्तु विक्रिवितरण, कालोबजारी नियन्त्रण गर्ने लगायत जुवातास, चोरी तस्करी, लागू औषधको प्रयोग तथा ओसार पसार सिमा नाकाहरुमा कडाईका साथ चेकजाँच गर्न, फरार प्रतिवादी पक्राउ अभियानलाई तिव्रताका साथ कार्यान्वयन गरिने पनि उनको भनाइ छ ।

कतिले छाडे  प्रदेश राजधानी ?

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार घटस्थापनाको दिनदेखि सवारी चाप निकै बढीरहेको छ । दैनिक चार हजारसम्मले राजधानी छाडिरहेको प्रहरीको आकलन छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सुचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माका अनुसार वीरेन्द्रनगरबाट बाहिरीने नाकाहरुमा रहेका प्रहरी बिटमा रहेको रेकर्ड अनुसार सवारी साधन र यात्रुहरुको सङ्ख्या निकै बढेको छ ।  २५ गतेसम्म यो सङ्ख्या अझ बढ्ने उनले बताए । यद्यपि कति जनाले राजधानी छाडे र भित्रिए भन्ने यकिन तथ्याङ्क भने प्रहरीसँग छैन ।

सुर्खेतबाट प्रकाशित प्रदेश रैबार साप्ताहिकमा समाचार प्रकाशित भएको छ ।

तपाईको प्रतिक्रिया