मानव सेवा आश्रमको भवन निर्माण गर्न सुर्खेतमा महायज्ञ आयोजना गरिदैँ

सुर्खेतः आगामी मंसिर २१ गतेदेखि २८ गतेसम्म सुर्खेतको वीरेन्द्रनगरमा महायज्ञ आयोजना गर्न लागिएको छ । मानव सेवा आश्रमको कर्णाली प्रदेश स्तरीय भवन निर्माणका लागि महायज्ञमार्फत आवश्यक रकम संकलन गरिने जनाइएको छ ।

आश्रयविहीनलाई आश्रय प्रदान गर्दै आएको मानव सेवा आश्रमको भवन निर्माणमा कुल ८ देखि १० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । महायज्ञबाट कम्तिमा ५ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको महायज्ञ मूल आयोजक समितिका संयोजक डा. नवराज केसीले बताए । आश्रमको नयाँ भवन निर्माणका लागि वीरेन्द्रनगर नगरपालिका–११ स्थित गंगामाला धार्मिक वन र देउती बज्यै सामुदायिक वन समितिले २९ विघा जग्गा उपलब्ध गराएको छ ।

यस्तै, कर्णाली प्रदेश सरकारले पनि भवन निर्माणका लागि चालु आर्थिक वर्षको बजेटमा १ करोड रुपैयाँ दिने घोषणा गरेको छ । डा. केसीले बिहीवार आश्रममा पत्रकार सम्मेलनमा भने, ‘सरकारको पुँजीले मात्र भवन निर्माण सम्भव छैन, समाजको पुँजी पनि यसमा लाग्नुपर्छ। हामीलाई पैसा मात्र होइन, सेवा गर्ने हातहरू पनि चाहिएको छ । सबै कर्णालीवासीलाई यस पुण्यकार्यमा सहभागी हुन आग्रह गर्दछु ।’ भवनमा सडक आश्रित मानवको उद्धार गरेर राख्ने मात्र नभई मानव सेवा बुझाउने मानवता अध्ययन केन्द्रको स्थापना गरिने संयोजक केसीले बताए ।

महायज्ञमा प्रमुख कथावाचकको रूपमा भागवत भाष्कर कमलनयन गौतम रहेका छन् । यसमा सबै धर्म र परम्पराका पण्डित, गुरुहरूको सामूहिक उपस्थिति हुनेछ । यसका साथै, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, नाटक, झाँकी प्रदर्शन लगायतका सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना गरिने छन् ।

तपाईको प्रतिक्रिया