मानव सेवा आश्रमको भवन बनाउन सुर्खेतमा मंसिर २१ गतेदेखि महायज्ञ लगाइदै

सुर्खेत : मानव सेवा आश्रमको आयोजनामा हुन लागेको श्रीमद् भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ–२०८१ का बिषयमा जानकारी दिन खुलामञ्चमा बुधवार पत्रकार सम्मेलन गरिएको छ । मानवसेवा आश्रमको कर्णाली प्रदेश स्तरीय भवन निर्माणका लागि आर्थिक र भावनात्मक सहयोग जुटाउने एवम् मानवता प्रवर्द्धनमा टेवा पु¥याउने उद्देश्यका साथ महायज्ञ आयोजना गर्न लागिएको हो । महायज्ञ मंसिर २१ गतेदेखि २८ गते सञ्चालन हुनेछ पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

सडक आश्रित मानवमुक्त कर्णाली प्रदेश निर्माण गर्ने लक्ष्य सहित २०७५ साल माघ १८ गते मानवसेवा आश्रमले वीरेन्द्रनगर सुर्खेतमा आफ्नो सेवा शुभारम्भ गरेको थियो । हाल भवन अभावका कारण सेवा प्रवाहमा समस्या भएका कारण आर्थिक र भावनात्मक सहयोग जुटाउने प्रयास थालिएके छ ।

पत्रकार सम्मेलनमा महायज्ञ मूल समारोह समितिका संयोजक डा.नवराज के.सी.ले सडक आश्रित मानवहरूको सेवाको स्थायित्वको लागि मानवसेवा आश्रम कर्णाली प्रदेश सुर्खेत सेवा केन्द्रको आफ्नै भवन निर्माण गर्ने लक्ष्य राखी महायज्ञ आयोजना गर्न लागिएको बताए । उनका अनुसार महायज्ञको तयारी अन्तिम अवस्थामा पुगेको छ । भागवत भास्कर कमलनयन गौतमले कथा वाचन गर्नुहुनेछ । महायज्ञको औपचारिक उद्घाटन कर्णाली प्रदेश सरकारका माननीय मुख्यमन्त्री यमलाल कँडेलको प्रमुख आतिथ्यमा हुने कार्यक्रम तय भएको मानवसेवा आश्रमका केन्द्रीय संस्थापक अध्यक्ष रामजी अधिकारीले बताए ।


वीरेन्द्रनगर नगरपालिका वडा नं १२ मा घर भाडामा लिएर सेवा शुभारम्भ गरेको आश्रमले कर्णाली प्रदेशको १० वटै जिल्लाहरूबाट हालसम्म ४ सय १५ जनाभन्दा बढी बेसहारा, असहाय सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार गरी सेवा प्रदान गरिसकेको छ । मानवसेवा आश्रम सुर्खेत सेवाकेन्द्रमा हाल विभिन्न उमेर समूहका र विभिन्न प्रकृतिका ८० जना सहयोगापेक्षी सडक आश्रित मानवहरू संरक्षणमा छन् ।

श्रीमद् भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ मूल समारोह समितिसँगै सेवा सहजताको लागि २५ वटा उप–समितिहरू निर्माण भएको छ । यज्ञको संरक्षक परिवार र अभिभावक परिवारमा प्रदेश र जिल्लाका विभिन्न क्षेत्रका प्रमुख एवं प्रतिनिधिहरूलाई मनोनयन गरिएको छ । महायज्ञ सफल बनाउन र सेवा सहजीकरणको लागि मानवसेवा आश्रमको ७ प्रदेशका १९ जिल्लामा रहेका २५ सेवाकेन्द्रहरुबाट ३० जना अभियन्ताहरू सुर्खेत केन्द्रित भएर सेवामा जुटिरहेका छन् ।

तपाईको प्रतिक्रिया