सुर्खेत । रत्न राजमार्ग र कर्णाली राजमार्गमा सवारी दुर्घटना न्यूनीकरणका लागि वीरेन्द्रनगरका १३ स्थानमा चेतनामूलक होर्डिङ बोर्ड राखिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले तीव्र गतिका कारण हुने सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले राजमार्गका १३ स्थानमा चेतनामूलक बोर्ड राखिएको हो ।
बुधवार वीरेन्द्रनगर नगरपालिकाअन्तर्गत सुब्बाकुनादेखि बाङ्गेसिमलसम्मको सडकमा १३ वटा गति सीमित सूचना बोर्ड राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक वकिल सुनारले जानकारी दिएका छन् । उनकाअनुसार बुधबार राखिएका बोर्डहरूमा अधिकतम गति ३० किलोमिटर प्रति घण्टा लेखिएको छ । बोर्डहरू सुब्बाकुना, धुलियाबिट, पिपिरा, एयरपोर्ट, खजुरा, दैलेख रोड, बसपार्क, मंगलगढि, चाईना पुल, एरिचोक, मुलपानी, रेडियो नेपाल र टेम्पु पार्क चोकमा राखिएका छन् ।
आर्थिक वर्ष २०८०÷०८१ मा सुर्खेत जिल्लाको सवारी दुर्घटना विश्लेषण गर्दा ५७ प्रतिशत सवारी साधन तीव्र गतिका कारण दुर्घटना भएको पाइएको छ । निर्धारित गतिभन्दा बढी गतिमा सवारी चलाउने सवारी चालकलाई कारबाहीको दायरामा ल्याउने प्रतबिद्धता गरेका छन् ।










नेपालीरैबार । २०८१ पुष ११, बिहीबार