
दैलेख । पेट्रोलियम पदार्थको अन्वेषण अन्तर्गत ‘ड्रिलिङ’ गर्ने काम सकिएको छ । दैलेखको भैरवी गाउँपालिका–१, जलजले क्षेत्रमा रहेकोे ड्रिलिङको काम गत वैशाख २८ गतेबाट सुरु भई बुधबार सकिएको खानी तथा भूगर्भ विभागले जनाएको छ ।
खानी तथा भूगर्भ विभागका भूगर्भविद् प्रकाश लुइँटेलले चार हजार दुई मिटर गहिराइसम्म ड्रिलिङ भएसँगै यो काम सकिएको जानकारी दिएका छन् । उनले वैशाष महिनादेखि सुरु गरिएको ड्रिलिङको कार्य सकिएको बताएका छन् । असोज मसान्तसम्म सम्पन्न गर्ने परियोजनाको लक्ष्य भएपछि कडा चट्टानका कारण पुस महिनासम्म लम्बिन पुगेको बताइएको छ ।
दुई हजार सात सय मिटर ड्रिलिङ भएपछि विज्ञले प्रत्येक दुई÷दुई मिटर गहिराइबाट निस्किएका ढुङ्गा र माटो परीक्षण गरिरहेको उनले जानकारि दिएका छन् । उनका अनुसार त्यसबाट प्राप्त भएको विवरणलाई सङ्कलन गरी सोर्स रक, रिजर्भ वायर रक र सिल रक गरी तीन वटा थप अध्ययन हुने भएा छन् । पेट्रोलियम पदार्थ (प्राकृतिक ग्यास) हुनका लागि तय गरिएका आवश्यक मापदण्ड अन्तर्गतका सङ्केत सफलतापूर्वक प्राप्त भइरहेका छन् ।
चिनियाँ टोलीले हरेक दुई मिटरबाट सङ्कलन गरेको नमुनाको विशिष्ट अध्ययन चीनमै हुनुपर्ने भएकाले अन्तिम नतिजा आउन केही समय लाग्ने विभागले जनाएको छ । अन्तिम नतिजा प्राप्त भएपछि त्यसको भण्डारण क्षमता पत्ता लागेको खण्डमा आर्थिक विश्लेषण गरेर उत्पादनका लागि प्रक्रिया अगाडि बढाइने लुइँटेलले बताए । ड्रिलिङका लागि दैलेखको भैरवी गाउँपालिका–१, जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो ।
सुरुवातमा तीन वर्षभित्र तीन चरणमा काम सक्ने गरी सम्झौता भए पनि कोरोना महामारीका कारण सम्झौता अनुसार काम हुन नसेृको हो । पहिलो चरणमा चिनियाँ प्राविधिकले दैलेखको स्थलगत अध्ययन गरेर पेट्रोलियम पदार्थ हुन सक्ने सम्भावित ठाउँ पत्ता लगाएका थिए । त्यसैका आधारमा ड्रिलिङका लागि रिङ हाउस निर्माण गरी ड्रिलिङको काम सुरु भएको थियो । ड्रिलिङ गरेपछि कति पेट्रोलियम पदार्थ छ भन्ने पत्ता लगाउन सकिन्छ भन्दै भूगर्भविद् लुइँटेलले खानी भेटिएपछि त्यसको आर्थिक विश्लेषण हुने र त्यसपछि मात्र उत्पादनका आवश्यक काम अगाडि बढ्ने स्पष्ट पारेका छन् ।
चीन सरकारको दुई अर्ब ५० करोड रुपियाँ अनुदानमा पेट्रोलियम पदार्थको अन्वेषण भइरहेको हो । अन्वेषण सफल भए देशको आर्थिक अवस्था सुधार हुनुका साथै ठुलो सङ्ख्यामा रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ ।

नेपालीरैबार । २०८१ पुष १९, शुक्रबार