कर्णाली बेलिब्रिज निर्माणको जिम्मा नेपाली सेनालाई

सिमकोट । कर्णाली करिडोरको हुम्ला जिल्लामा पर्ने खार्पुनाथ गाउँपालिका– ५ को दोजाम कर्णाली नदीमाथि बेलिब्रिज निर्माणको जिम्मा नेपाली सेनालाई दिने सरकारले गरेको निर्णयले यसै आर्थिक वर्षमा सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिनेमा विश्वस्त भएका छन् । गत मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सो बेलिब्रिज निर्माणको जिम्मा सेनालाई दिने निर्णय गरेअनुसार अब बेलिब्रिज निर्माणको बाटो खुलेको र चाँडै नेपाली सेनाले काम थाल्नुपर्ने हुम्लावासीले बताए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले लिएको दोजाम कर्णाली नदीमाथिको बेलिब्रिज निर्माणको जिम्मा नेपाली सेनालाई दिने प्रस्तावलाई मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पारित गर्दै अब चाँडै दोजाम कर्णालीमाथि बेलिब्रिज निर्माण हुने बाटो खुलेको हो ।

सरकारको निर्णयले सदरमुकाम सिमकोट यसै आर्थिक वर्षभित्र राष्ट्रिय सडक सञ्जालसँग जोडिनेमा जिल्लावासी विश्वस्त भएको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले बताए। सरकारले निर्णय गरिसकेका कारण अब काम छिटो सुचारु गर्न आग्रह गर्दै उनले यसका लागि गाउँपालिका नेपाली सेनालाई सहयोग गर्न तत्पर रहेको बताए ।

सदरमुकाम सिमकोटलाई सडक सञ्जालसँग जोड्नका लागि सरकारले जुन निर्णय गरेको छ, त्यो स्वागतयोग्य कुरा भएको बताउँदै उनले सरकारलाई धन्यवाद पनि दिए। सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले जिल्लावासीको साझा मागलाई सरकारले समयमै ध्यान दिएर पूरा गरेको बताउँदै यो हुम्ला जिल्लाको साझा सवाल रहेको बताए ।

यसअघि पनि कर्णाली करिडोरको काम नेपाली सेनाले समय मै गरेको स्मरण गराउदै उनले अब बेलिब्रिज निर्माण र आठ सय मिटर चट्टानी सडक स्तरोन्नति गर्ने काम समयमै हुने विश्वास व्यक्त गरे। सरकारले गरेको निर्णय तत्काल कार्यान्वयनमा ल्याएर कामको थालनी गर्न पनि उनले आग्रह गरे। यसका लागि पहलकर्ता र कार्यान्यनकर्ता सबै धन्यवादका पात्र भएको उनको भनाइ छ ।

सो नदीमाथि पुल निर्माण हुन नसकेको कारण हुम्ला जिल्लाको सदरमुकाम सिमकोट औपचारिक रुपमा राष्ट्रिय सडक सञ्जालसँग जोडिन सकेको छैन । खार्पुसम्म गत असारमा औपचारिक रुपमा यातायातका साधन सञ्चालन हुन थालेका थिए । सो स्थानमा पक्की पुल पनि निर्माणाधीन अवस्थामा छ। तर, सो पुल निर्माण गर्ने क्रममा पूर्वपट्टिको पिलरको जग खन्ने क्रममा पहिले तातोपानी निस्केर काममा बाधा पुगेको थियो भने पछि नदीको पानी नै पुलको पिलर निर्माणस्थलमा पसेर काम रोकिएको थियो ।
उक्त हालसम्म निर्माण सुरु हुन सकेको छैन। पक्की पुल निर्माणको अवस्था यस्तो भएपछि जिल्लावासीले तत्कालका लागि दोजाम कर्णाली नदीमाथि बेलिब्रिज निर्माणका लागि सरकारसँग माग गर्दै आएका थिए ।

त्यसैगरी सलीसल्ला सिमकोट खण्डको आठ सय मिटर कडा चट्टानी र साँघुरो सडक स्तरोन्नतिको काम पनि नेपाली सेनालाई दिने निर्णय सरकारले गरेको छ। यसबाट सो खण्डको असजिलो खण्डको सडक पनि निर्माण हुने बाटो खुलेको छ। हाल सोही साँघुरो र ग्रेड नमिलेको सडकमा यातायातका साधन गुड्दै आएका छन्। यसबाट बोक्चे गौडा, भिगौडादेखि गाउँपालिका केन्द्रसम्मको चट्टानी असजिलो र साँघुरो सडक फराकिलो बनाउने काम पनि अब सेनाले गर्नेछ ।

सरकारले बेलिब्रिज र चट्टानी सडक निर्माण गर्न सेनालाई जिम्मा लगाउने निर्णय भए पनि यसको लिखित परिपत्र आएपछि मात्र सेनाले काम अगाडि बढाउने बताएको छ ।

तपाईको प्रतिक्रिया